
२९ चैत, काठमाडौ । नेपालले भारतको उर्जा बजारमा बिजुली बेच्न र किन्न पाउने भएको छ । दुई देशबीच अनलाइन प्रणलीमार्फत ऊर्जा एक्सेन्ज मार्केट सट्टा बजारमा किनबेचसम्बन्धी सम्झौता हुन लागेको हो ।
विद्युत् व्यापार निगम र प्राधिकरणबीच बिजुलीको अनलाइन कारोबारसम्बन्धी सम्झौताको तयारी पूरा भएको बताए । सम्झौता केही दिनभित्रै हुने उनले जानकारी दिए ।
सम्झौता भएपछि नेपालले आफुलाई चाहिएको बिजुलीको परिमाण र आवश्यक समय खुलाएर अघिल्लो दिन अनलाइनमा विवरण राखिदिने र त्यसअनुसारको बिजुली भोलिपल्ट प्राप्त हुने प्रणाली स्थापित गरिने अधिकारीले बताए ।
नेपालले सन् २००९ देखि विद्युत् एक्सचेन्जको अवधारणा लागू गराउने भारतसित आग्रह गर्दै आएको छ । भारतले केही महिनाअघि सीमापार विद्युत् निर्यातसम्बन्धी निर्देशिका संशोधन गरेर ऊर्जा व्यापारको बाटो खोलिदिएको थियो ।
त्यसलगत्तै गत माघ दोस्रो साता पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले यसरी खरिदबिक्री गर्ने निर्णय गरेको थियो।
विद्युत् एक्सचेन्जसम्बन्धी मस्यौदा एनभीभीएनले केही साताअघि विद्युत् प्राधिकरणलाई पठाएको थियो। अधिकारीका अनुसार भारतीय मस्यौदालाई प्राधिकरण बोर्डले स्वीकृत गरिसकेको छ।शुक्रबारको अन्नपूर्ण पोस्टमा विकास थापाले लेखेका छन ।
वि.सं.२०७५ चैत २९ शुक्रवार ०७:४० मा प्रकाशित