१.
यति धेरै खुसीयाली,साँच्चै आवश्यक थिएन
यो मनमा हरियाली, साँच्चै आवश्यक थिएन
अस्ताउँदो सूर्यको खुबै आराधना गर्यौ किन ?
घामको सामु दिपावली, साँच्चै आवश्यक थिएन ।
२.
हरियो काँक्रोमा नुन लगाएर हेर्नुस्
र मान्छेलाई अलिकति गुन लगाएर हेर्नुस्
अन्तर प्रस्ट छ, काँक्रो मात्र रसाउँनेछ
नपत्याए पाउमा साबुन लगाएर हेर्नुस् ।
३.
खुट्टा गल्ने बित्तिकै जिन्दगीको यात्रा सिद्धिन्छ
उमेर ढल्ने बित्तिकै जवानीको उन्माद रित्तिन्छ
कस्तो घामछायाको जीवन दिएको छ विधाताले
भुइँको टिप्न खोज्दा पोल्टाको खुरुखुरु निख्रीन्छ ।
४.
जिन्दगीमा साना साना रहर मात्र पाल्न सकूँ
पीडा-व्यथा-सकसलाई प्रेरणामा गाल्न सकूँ
“खान पुगोस्,दिन पुगोस्“यही मन्त्र जपी जपी
यात्राका बाँकी पाइला सुस्तसुस्त चाल्न सकूँ ।
विदुर-५, नुवाकोट
हाल : तारकेश्वर न.पा.-२, काठमाडौ ।
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:४५ मा प्रकाशित






























