आमा !
पुत्र प्राप्तिको अभिलाषामा
एक महिने स्वस्थानी व्रत पश्चात्
तिम्रो मुटु घायल बनाउँदै
मन रक्ताम्मे बनाएर
जन्मिएकी छोरी म ।
अमृतधारा पिलाउँदा होस् वा
घामको पारिलो किरणमा तेल घस्दा
निश्चय नै,
मेरो अंग प्रत्यंग नियाल्दै
तिम्रो आस्थाका आरध्य देव
अबोला त्रिनेत्रेश्वरसँग
प्रश्न गर्यौ होला आमा
कहाँ चुकें म तिम्रो आरधनामा भन्दै ।
छर-छिमेकको मराउमा
समवेदना प्रकट गर्न जाँदा
क्रिया पुत्रीले पिण्ड लडाएको दृश्य नियाल्दै वा
कुनैबेला मलामी जाँदा
छोराले मुखाग्नी दिएको दृश्य नियाल्दै
पुनः पुनः आफू अपुत्र
बन्न परेको समवेदना
मनभरी भर्यौ होला आमा तिमीले ।
सोह्र वर्षको लामो व्रत पश्चात्
पुत्रवती कहलिएकी तिमी
भुईंमा न भाँडामा हुँदै
छताछुल्ल पोखिएको
तिम्रै खुशीको स्निग्ध झरनामा
निथ्रुक्क रुझेकी थिएं म पनि
दिदी हुनुको गर्वमा एकदिन ।
आमा !
दुर्भाग्य तिम्रो, नौ वर्ष पछि
पुनः पुत्र विहिन बन्न परेको क्षण
आँखाबाट मात्र होईन
मुटुबाटै मूल फुटेर बहेको
रक्ताम्मे आँसु
धरधरी हृदय च्यातिएर
निरीह बनेका मर्मभेदी चित्कारहरू
भित्तो टाल्ने जातकी मेरो उपस्थितिले
थोरै पनि सम्हाल्न सकेन ।
तर आमा !
आज समय बदलिएको छ
तिमी निर्धक्क विश्वस्त बनेकी छौ
तिम्रो जीवनको उत्तरार्द्दमा
वृद्दाश्रम पुर्याएर तिमीलाई फकाउँदै छक्याउँदै
छोडेर हिंड्ने छोरा छैन तिमीसँग
रक्सी र ड्रग्सको नशामा
तिम्रो मुजा परेको अनुहारमा
अमुर्त चित्र कोर्ने छोरोहात छैन तिमीसँग
अंशको निहुँमा
खुकुरी टल्काएर नचाउने शिल्पी हात छैन
तिम्रो मनमा अदृश्य डढेलो लगाई
हुरहुरी तिम्रो वात्सल्य डढाउन
सलाई झोस्ने कुनै
निर्लज्ज छोरोमन छैन तिमिसँग
र छैन,
सत्तरी वर्ष र पाँच वर्षको नारी तनमा
मस्त यौवन देख्ने
विषालु पुरुष नजर बोकेका छोरा तिमीसँग ।
हो आमा !
आज समय निश्चय नै बदलिएको हो
भित्तो टाल्ने जातकी मेरो आँखामा
आँखा खप्ट्याएर निर्धक्क तिमी
आफ्नो आँखाभरी गर्वको उज्यालो भर्छौ
तिमी ओंठभरी उमार्छौ अलौकिक बुढ्यौली मुस्कान
र , म त्यहीँ पाउँछु
मैले लडेर जीवन जितेको एउटा युद्ध
र पाउँछु
जीवन पढ्ने विश्व विद्यालयरूपी ब्रह्माण्ड ।
वि.सं.२०७७ वैशाख २० शनिवार १०:२८ मा प्रकाशित