दिनदिन श्रम पोखेँ छन् सबै पात्र खाली ।
फल घर जब ल्याएँ साहुले लान्छ खालि ।।
घर तनय रुवाई टाल्न के सक्छु मैले ?
दृग दुइ तनयाका झार्दछन् अश्रु जैले ।।०१ ।।
मन बह अझ पत्नी पोख्दछिन् मौनतामा ।
तन मनसित पोखेँ व्यर्थ छन् कर्म धामा ।।
खुद घर सब भाँडा रित्तिए मास मारी ।
तर धव घर बाँध्छन् पूर्ण पारी भकारी ।।०२।।
नृप स्वर अघि सुन्थेँ न्यायका मिष्ट व्याख्या ।
बहुजन अझ निम्जा छैन केही सुरक्षा ।।
सुख घर अब ल्याऊँ चेतमा यो गमेर ।
गृह परिजन पोख्छौँ कर्म सङ्लो चुनेर ।।०३।।
चयन महल भोग्छन् कर्म गर्ने चुसेर ।
अब सब जन जुट्दै चाल फेरौँ उठेर ।।
मधुरस सम नेता भन्दथे तन्त्र फे-यौँ ।
अझ पनि ढप उस्तै झेलका खेल हे-यौँ ।।०४।।
तर पनि गृह रित्तो बन्छ यो खोट के हो ?
प्रवचन अझ सुन्दा लाग्छ ठग्ने छ खेलो ।।
अब सब घर आई झूट भारी नपोख ।
कर बल छल बढ्ने मार्ग कालो नरोज ।।०५।।
मनुज असल बन्ने मार्गमा हिँड्छु नित्य ।
श्रमिक मनुज ठग्ने त्यागियोस् दुष्ट कृत्य ।।
नियम परिधि मिच्ने दुष्टता छैन मेरो ।
रिपु घर यदि आऊन् स्नेहको मार्छु फेरो ।। ०६।।
छन्दः मालिनी
गणः– न न म य य
सङ्केत :- III III SSS ISS ISS
वि.सं.२०७७ वैशाख २० शनिवार १०:३५ मा प्रकाशित






























