उनी उठ्नासाथै सधैंझैं नित्यकर्म तिर लागिन् । बुढा भने उठ्नासाथै मोबाईल हातमा लिएर त्यसैमा घोप्टिन थाले ।
उनले बढारबुढुर सकेपछि नुहाई धुवाई गरी भगवानको पूजा गरिन् र चिया पकाएर हंसिलो अनुहार बनाउँदै कोठामा छिरिन् ।
कोठाको दृष्य भने जस्ताको त्यस्तै छ । भित्तामा आड लगाएका बुढाको हातमा मोबाईल, मुहारमा मन्द मुस्कान अनि एउटा औंला फटाफट चलिरहेको छ ।
आफू पसेको पनि चालै नपाएझैं गरेपछि उनी छक्क परिन् । र नजिकै पुगेर भनिन्, ‘हैन बुढा, छाँट त गतिलो छैन नि, यो उमेर, राति अबेरसम्म यही ठाँडोमा भुल्ने, विहान उठ्न नपाउँदै यसैमा लाग्ने, सम्झने कुरा बिर्सने, बिर्से हुने कुरा सम्झने । ’– उनले भनिन् ।
‘हैन के भन्छेउ तिमी ? के बिर्सें ?’–बुढाले भने ।
‘खै त शुभकामना ? आज मेरो जन्मदिन, शुभकामना दिने होईन?, कि मागेर लिनुपर्ने हो ?’– उनले भनिन् ।
’ए साँच्चि, तिम्रो पनि आजै जन्मदिन है ?, फेसबुकका साथीहरूलाई त शुभकामना दिईसकें, तिम्रो चाहिँ याद भएन, यसैभएर त तिमी पनि फेसबुक खोल भनेको नि ! एकाबिहानै सम्झाउँछ र बेलैमा शुभकामना दिन पाईन्छ, समयसँगै चल्नुपर्छ क्या ।’–बुढाले भने ।
हाल-काठमाडौ
वि.सं.२०७७ वैशाख २० शनिवार १०:३७ मा प्रकाशित






























