लम्पसार फैलिएको आकाश
लमतन्न सुतेको हिमाल
लाचार तैरिएको समुन्द्रबिच
एउटा ठूलो देशमा
सानो भनेको उही
मजदुर न हो ।
यति ठूलो आयतनमा
यति बिघ्न फैलावटमा
यति अग्लो उँचाइमा
एउटा सानो कसिङ्गर
उ मजदुर न हो ।
राज भवनको शयनकक्षा भित्र
तागत र रूपियाँको अबैद्द संम्भोगमा
पाँच–पाँच वर्षमा जन्मिने
माफिया जस्ता नाजायज सरकार
एक गाँस भोक र
एक घुट्को तिर्खा उमार्न असमर्थ
नपुंसक दफ्तर र मन्त्रालयको
बाँझो फाईलहरूमा थुनिएको
योजना परियोजनाको
रौं सम्मले छुन नभ्याएको
एउटा आदिम समुह–ऊ मजदुर ।
ढुङ्गा, माटो र धुलोहरू
तक्दिरमा च्यापेर
बाटो खन्दा खन्दा
आफ्नै बाटो भूलेकाहरू,
पसिना र रगतसित
हातका ठेलाहरू रोपेर
अग्लो बिल्डिंग उचाल्दै
आफै तल तल गाडिएकाहरू,
भूइँ, भित्ता र भवनहरूमा
रङ्ग घस्दाघस्दै
आफ्नै रङ्ग उडाई पठाएकाहरू ।
खोला
खोलाको पानी
पानीको गति
हत्केलाले ठ्याप्प रोकेर
बिजुली फूलाउनेहरूको घर
निष्पट्ट अँध्यारो छ ।
हातका लामा लामा नसाहरू
पुरूक्क उखेलेर
किरिङमिरिङ बिछ्याइएको रेल
रेलको डब्बा
डब्बाभित्रको सिट
कुनै उसको होइन ।
भूइँ माथिको खाट
खाट माथिको छप्पर
छप्पर माथिको नाङ्गो आकाश
जहाँ छातीलाई रन वे बनाएर
कर्कश आवाजमा उड्ने
हवाई जहाज
क्यै क्यै उसको होइन ।
माटो चिरेर
पानी निचोरेर
पंहेलै पाकेका धान र
धानभित्रको चाँदी चामल
त्यो पनि उसको होइन ।
उसको भागमा छ त केवल
भोक ,लाचारी र मजबुरीहरू
जस्लाई तेल बनाएर
सल्काई रहेछ देशले ऊज्यालो ।
दरकार र सरोकारको मैदानमा
सरकार मजबुत छ
मजदुर मजबुर छ ।
चोर औलाले सजिलै थिचेर
विनाशर्त दिएको दान जस्तै
मतदानको साटो
यति बिघ्न अपमान भन्दा
सजिलै मृत्यु त दिन सक्छौ नी सरकार ?
वि.सं.२०७७ जेठ १० शनिवार ०९:४७ मा प्रकाशित






























