जुनसुकै शासन र आसन पनि जनताले आफ्नो अनुकुल नभएको महशुस गरेको खण्डमा भत्काई दिनसक्न सक्छन् । संसारभरका इतिहासहरुले त्यही भन्छ शासन र आसन जनताको हितअनुकूल हुन जरुरी हुन्छ । त्यसैले जहिले पनि जुनसुकै पनि शासनको केन्द्रभागमा जनताको हित र पूर्ण लोकतान्त्रिक चरित्र हुन जरुरी छ ।
यो विषय लेख्नु भन्दा अगाडी म आफैले एकपटक आत्म मुल्याङ्कन गर्नुपर्ने भयो र सोचे अनि रुपचन्द्र बिष्टलाई । सम्झे उनको एउटा भनाइलाई ‘भाते मौका नपाएका ईमान्दार’ अनि आफैले मनन गरें हो, हुनपनि सक्छ अनि फेरि सम्झे के सबै त्यस्तै हुन्छन् त ? गणेशमान सिंह, बी.पि कोइराला, निर्मल लामा, पुष्पलाल श्रेष्ठ, अनि अरु थुप्रै नेताहरु, समाजका त्यस्तो अबसर पाउँदा पनि आफ्नो आदर्शका जीवन बाँचेका मान्छेहरु, अनि फेरि आफ्नो मनलाई सोधे ‘के म यो बिषयमा कलम चलाउन उपयुक्त पात्र हो ? अहँ होइन होला ! मेरो मनमा थुप्रै पटक प्रश्नको बाढि आयो र छलफलमा भाग लिनुपर्छ, भन्ने सम्झेँ ‘अहिले नगरे कहिले गर्ने अहिले नभने कहिले भन्ने ।’ यो विषयमा अरु थुप्रै विद्वानले कलम चलाएका छन् । म किन जान्ने बन्नुपयो होला ! यी र यस्तै बिषय, अनि मलाई बारम्बार याद आउने महान दार्शनिकले भनेका छन् ‘संसार बुझ्नु मात्रै मुख्य कुरा होइन, मुख्य कुरा त संसार बदल्नु हो र फेरि पनि बदल्नु हो’ भन्ने भनाइलाई आत्मसात गर्दै बहसमा तयार हुनै पर्छ र जवाफ खोज्नु जायज हुन्छ । यहि कुरालाई मनन गर्दै केही संक्षिप्तमा आफ्नो धारणा राख्ने कोशिस गरेको छु ।
अहिले हामी लोकतान्त्रिक गणतन्त्रको भब्य महलमा बसेर कुरा गरिरहेका छौं । यो महल बनाउन थुप्रै ज्यामीहरुको लामो, कठिन र बलिदानीको थुप्रै कथाले भरिएको पान्डुलिपीहरु छन् । महल त बन्यो बनाउनेहरु आफ्नै गन्तव्यतर्फ लागे महलको हर्ताकर्ता र आनन्दको रस्वादन भने मालिकहरुले लिइराखेको अबस्था छ । ज्यामीहरु आफ्नो हातमुख जोडने दौडमा कुदिरहेका छन् । जे हिजो अस्ति थियो आज पनि तिनको अवस्था र हालत जिउँका त्युँ छ ।
बलिदान र कठोर संघर्षको परिणाम व्यवस्था परिवर्तन भयो तर स्थिति अर्थात अबस्था बदलिएन । बदलियो केवल कुर्सीका आसन । यसो भनीरहँदा केही पनि परिवर्तन भएको छैन भन्दा वस्तुबादी कुरा भएन भन्न सकिन्छ, कछुवाको गतिको चालमा विकास भने पक्कै भाछ तर यति कुराको लागि बलिदानको जरुरी पक्कै थिएन र होइन ।
भ्रष्टाचार के हो र कहिले देखि शुरु भएको हो भन्ने बिषयमा समाजशास्त्रीय कोणवाट हेर्दा समाजमा जहिले देखि तेरो र मेरो भन्ने सम्पत्ती मोह देखियो तेतिबेला देखि सुरु भयो भन्न सकिन्छ । यस विषयमा जर्मन दार्शनिक फ्रेडरीक एङेल्सले ‘परिवार नीजि सम्पती र राज्यको उत्पत्ति’ मा राम्रोसँग ब्याख्या गर्नुभएको छ । हो आज र हिजोको अर्थतन्त्रको मोडेल फेरिएको छ, कमोडिटिमा फेरबदल आएको छ । माल र बस्तुको बिच हुने exchange को रुपमा आज नोट र सिक्का आइपुगेको छ । अझ प्रविधिको सहजीकरणको युगमा computer का माध्यमबाट र चिप्सका माध्यमबाट कारोबार हुन्छ । जति बिज्ञान र प्रबिधिमा विकास भएको छ । त्यही मात्रामा भ्रष्टाचार गर्ने र कमिसन लिने दिने तरिकामा पनि फेरबदल आएको छ । आज देखिने र नदेखिने गरि भ्रष्टाचारको गति आधुनिक रेलको गतिमा बढेको छ ।
भ्रष्टाचारको विषयमा दुई अबधारणाहरु छन् । पहिलो मत छ, यो शुन्यमा झार्न सकिन्छ, भन्ने र दोश्रो न्यूनीकरण मात्र गर्न सकिन्छ भन्ने, विश्वभरीको तथ्यांक लाई हेर्दा यो दुबै कुरा सापेक्षतामा सहि नै छन् भन्न सकिन्छ । तर यसलाई पनि विश्वदृष्टिकोणमा आधारित गरेर हेर्दा पुँजीवादी शासन ब्यबस्था भएका मुलुकहरुमा न्यूनीकरणको चिन्ताले स्थान पाएको छ भने साम्यबादी मुलुकहरु शुन्यमा झार्ने कुरामा एक अबधीसम्म सफल भएका थिए । अझ तेस्रो मुलुक अर्थात अल्प बिकसित देशहरुको अबस्था र स्थिति भयावह छ । न्यूनीकरण गर्ने बिषय पनि ‘आकाशको फल आँखा तरि मर’ भने जस्तो काल्पनिक बन्न पुगिराखेको छ ।
यहाँ चर्चा गर्न खोजिएको घरेलु विषय हो । मान्छे जन्मेर हुर्के पछि देख्ने सपना भनेको आफ्नो भविष्यको सुरक्षा नै हो । सुरक्षाको खोजी र चिन्ता गर्दा गर्दै बुढो हुन्छ र मर्छ तर उसको सपना फगत कल्पनाको बिषय बनिदिन्छ । नेपालमा जे जति आन्दोलन र युद्धले जुन जुन परिवर्तन भएका छन् । जतिबेला देखि शासन र आसनमा फेरबदल आएका छन् । ती सबै परिवर्तनको निसानी थियो भ्रष्टाचारको अन्त र शुसासनको आशा र विश्वास । चाहे जाहानिया राणाशासन विरुद्धको आन्दोलन, पन्चायतको वा राजतन्त्र विरुद्धको होस सबै सबैमा लाखौं लाख जनताको समर्थन र सहभागिता रहयो । बलिदान र कठोर संघर्षको परिणाम ब्यबस्था परिवर्तन भयो तर स्थिति अर्थात अबस्था बदलिएन । बदलियो केवल कुर्सीका आसन । यसो भनीरहँदा केही पनि परिवर्तन भएको छैन भन्दा वस्तुबादी कुरा भएन भन्न सकिन्छ, कछुवाको गतिको चालमा बिकास भने पक्कै भाछ तर यति कुराको लागि बलिदानको जरुरी पक्कै थिएन र होइन ।
हाम्रो जस्तो आफ्नै आत्मनिर्भर अर्थतन्त्र नबनेका मुलुकमा दलाल पुँजिबाद र त्यसका प्रतिनिधि बनेर पात्र देखा पर्छन् । अझ एक दर्जन जति नामका घरानाहरु power center का अघोषित सल्लाहकारका रुपमा घेरा हाल्छन र सिङगो सरकार र राज्य संयन्त्रमाथी हावी हुन्छन् । तिनीहरुको हित अनुकुलका निर्णय हुँदै जान्छ्न यहि हो हाम्रो वास्तविकता ।
भ्रष्टाचार समाजको पिंधसम्म जरा गाडेर बसेको छ, त्यसलाई मलजल उपल्लो तहले स्थपित गरेको छ । स–सानो कुरा देखि ठूला मुद्दा (scandel ) हरु सुन्न र देख्न पाइन्छ । कुनै न कुनै यस्ता घटनामा संलग्नताको पुष्टि नभए पनि नाम भने पनि जोडिएका समाचारहरु पढ्न पाइन्छ । नेता, कर्मचारी, प्रहरी सेना, समाजको अगुवा भनिनेहरुबाट गहिरो खोजी गरियो भने प्रशस्त कुरा सुन्न पाइन्छ । विकासे बजेटको ५० र सो भन्दा कम मात्रैको काम हुने गरेको प्रष्टै छ । देशको अर्थतन्त्रको जग के हो हाम्रो, हाम्रो प्राथमिकता के हो ? भन्नेसम्म पनि स्पष्टता नभएको स्थितिमा बिकास बजेट समेत खर्च हुन नसक्नु अर्काे बिडम्बना त छँदैछ त्यसमा पनि अझ भ्रस्टाचार हुनुले हामीले बिकासलाई कछुवा गति नदिए के दिने स्वभाबिक प्रश्न होइन र ?
आज हाम्रो घरेलु बिकासको बाधक के हो ? भनी प्रश्न गरियो भने सहज जवाफ हुनेछ, भ्रष्टाचार । भ्रष्टाचार के हो के होइन भन्ने बिषयमा कानुनले समेत स्पष्ट ब्याख्या गरेको छ । प्रत्यक्ष पैसा लिनु दिनु मात्रै होइन शक्तिमा हुँदा गरिने कतिपय नीतिगत निर्णयहरु, जो लिनु वा दिनु का आसयले गरिन्छ भन्ने छ । यी र यस्ता काम कानुनको विपरित हुन्छ पनि भनिएको छ तर पनि कानुनको धज्जी उढाउँदै निर्लज्जतापूर्वक गरिन्छ र गराइन्छ । जनताले चाहेको यो होइन । जनता चाहन्छन् सम्पूर्ण रुपले सुरक्षा । भ्रष्टाचारको एक वा दुई घटना छैन अनेक कथा र कहानीहरु छन् । हिजो भ्रष्टाचारका कुराहरु सहज लुकाउन सकिने थियो होला आज प्रबिधी र सूचनाको यति ठूलो आकार छ कि सबै सूचनाहरु क्षणभरमा आम मानिसको हातहातमा पुग्न सक्छ । आज देखिएको इमान्दार केही समयमा बेइमानको उपाधीको तक्मा लगाउने अबस्थामा पुग्छ ।
हाम्रो जस्तो आफ्नै आत्मनिर्भर अर्थतन्त्र नबनेका मुलुकमा दलाल पुँजिबाद र त्यसका प्रतिनिधि बनेर पात्र देखा पर्छन् । अझ एक दर्जन जति नामका घरानाहरु power center का अघोषित सल्लाहकारका रुपमा घेरा हाल्छन र सिङगो सरकार र राज्य संयन्त्रमाथी हावी हुन्छन् । तिनीहरुको हित अनुकुलका निर्णय हुँदै जान्छ्न यहि हो हाम्रो वास्तविकता ।
बी.पि कोइरालाले भनेका थिए ‘कुनै निर्णय लिनु अगाडी भित्तामा राखिएको हलो जोतिरहेको किसानको चित्र हेरेर निर्णय लिनु अनि मात्रै वास्तविक जनताको पक्षमा काम गर्न उत्साहित गर्नेछ ।’ यो भनाइले गहिरो अर्थबोध गरेको प्रतीत हुन्छ । हो, हाम्रा नेताजीहरु ठूलो राजनैतिक नाराका आधारमा परिवर्तनको नेतृत्व गर्न सफल भए तर दलाल पँुजिबाद र त्यसका ठेकेदारहरुको घेरा तोड्न सकेनन् मात्रै होइन तोड्ने संकेतसम्म देखाउन सकेनन भन्दा हुन्छ । भ्रष्टाचार र शुसासन एक अर्काको बिरोधी तत्व हुन् अझ बाघ र बाख्रा जस्तै मांसाहारी र शाकाहारी प्राणि जस्तै हु्न । बाघ र बाख्रा सँगै हिंड्न खोज्दाको परिणाम हो, शुसासन स्थापित हुन नसक्नु ।
सबै मानिस प्रधानमन्त्री, मन्त्री वा ओहदावाला हुने पनि होइन र सम्भब पनि छैन । तर जनताले सबैलाई चुन्ने अवसर भने पाउँछ । जनताले एकचोटी भोट हाल्छ प्रतिनिधि नेताले ५ बर्ष शासन र आसन पाउँछ ।
अब प्रश्न उठछ भ्रष्टाचारको कुरा नेताले नचाहेर समाधान नभएको हो ? मेरो बुझाइमा चाहे काँग्रेस हुन वा कम्युनिस्ट सबै नेताहरु चाहँदा हुन भ्रष्टाचार अन्त्य गर्न । तर चाहनाले मात्रै समुन्द्र तर्न सकिदैन प्रतिबद्धता र कठोर निर्णय लिने शाहासको खाँचो देखिन्छ । शत्रु पक्षले कमजोरीको खोजी गर्छ र प्रत्याक्रमण गर्छ । सैन्य बिज्ञानको नियम भित्रको कलाले मात्रै युद्ध जितिन्छ । हो, आज राजपाठको आसनमा हिजो र आज जो जो बसे तिनले यो बिषय बुझेर बुझ पचाए वा कठोर निर्णय लिने आँट गर्न सकेनन् । भौतिक सुबिधाको चरम आकांक्षा देखा पर्दा दलाल पुँजीवादका ठेकेदारहरु समिपमा पुग्नु कुनै अनौठो बिषय होइन । तीनलाई पनि थाहा छ कि यी भोका हुन घाँस हाल्नु पर्छ मौका यहि हो, अनि शुरु हुन्छ, मास भछी यात्रा ।
के हुनसक्छ समाधान ?
१) पारदर्शी जीवन, खुल्ला र स्पष्ट ब्यबहार ।
२) सबै खर्च पार्टीको निर्णयमा ।
३) आफ्नो जीवन जनताको हितमा समर्पित गरेका नेताहरुले नीजि भनिएको सम्बन्धलाई तद्अनुकुल लाने आँट गर्न सक्नपर्दछ ।
४) नीजि भनिएको भौतिक सम्पत्ति जनताको हितमा समर्पित गर्नु पर्दछ ।
५) सत्ताको वा सरकारको सञ्चालन पार्टीको सामूहिक निर्णयद्वारा गर्नुपर्दछ ।
६) भ्रष्टाचारजन्य कृयाकलापमा संलग्न जो कोहि होस पार्टी को मान्छे वा आफ्नो रक्त सम्बन्धलाई दन्डीत गर्न सक्न पर्दछ ।
७) नेता जन्मन्छ र आफ्नो जीवन कालमा सफलता पनि हासिल गर्छ तर मृत्यु पछि वा शक्तिबिहिन हुँदा गुमनाम हुन्छ । तर भोलिको पुस्ताले पनि आदर्श मान्न लायक बन्नुपर्दछ ।
८) शक्ति, धन र सौन्दर्यता अस्थायी हुन् भन्ने कुरालाई आत्मसात गर्न सक्नु पर्दछ ।
९) सरकार वा पार्टी लोकतान्त्रिक विधि वा पद्धतिमा संचालन गर्नु पर्दछ ।
१०) बिरोधी वा समर्थकका आलोचनालाई सुन्न सक्नु र कमजोरीलाई सच्याउन सक्नु पर्दछ ।
समयले जनाउ मात्रै दिन्छ । कुरेर चौतारीमा थकाइ मार्दैन, आफ्नै गति हुन्छ । जुनसुकै शासन र आसन पनि जनताले आफ्नो अनुकुल नभएको महशुस गरेको खण्डमा भत्काई दिनसक्न सक्छन् । संसारभरका इतिहासहरुले त्यही भन्छ शासन र आसन जनताको हितअनुकूल हुन जरुरी हुन्छ । त्यसैले जहिले पनि जुनसुकै पनि शासनको केन्द्रभागमा जनताको हित र पूर्ण लोकतान्त्रिक चरित्र हुन जरुरी छ ।
भ्रष्टाचार र रुपान्तरण एकअर्काका विरोधी हुन् । तर भ्रष्टाचारलाई पूर्ण उन्मूलन गर्न नसक्दासम्म रुपान्तरण हुनै सक्दैन । त्यसैले आजको प्राथमिक कार्यसूची भ्रष्टाचारको पूर्ण अन्त्य हो, राज्य संयन्त्र र व्यक्तिका विचार दृष्टिकोणमा समेत ठूलो साँस्कृतिक क्रान्ति रुपान्तरण । त्यसैले माओले सत्ता आफ्नो हातमा लिएपछि पनि मुख्य मुद्दाको रुपमा त्यस विरुद्धको अभियान थाल्नुभएको थियो जसलाई सारमा साँस्कृतिक क्रान्ति भनियो यसका अनेक आयामहरु छन् । हो आज नेकपाले झण्डै दुई तिहाइ मतादेशका आधारमा सत्ताको बागडोर सम्हालेको छ तर अरू जे कुरा गरेपनि पूर्ण रुपान्तरणमा जान सकेनौं भने हामीले नत जनताको आशा र विश्वासको प्रतिनिधित्व गर्नसक्छौं । न त कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने सक्छौं । त्यसैले यो एउटा सुवर्ण अवसरको सहि सदुपयोग गर्दै अगाडि बढ्नु आजको मुख्य कार्यभार हो ।
(लेखक : नेकपाका नेता हुन् )
वि.सं.२०७७ जेठ १८ आइतवार १३:२० मा प्रकाशित






























