
ओ प्रिय आदिकवि !
कहिल्यै नमर्ने दुबोजस्तै
बाचिरहेछौ तिमी फराकिलो आयतन ।
दुबोझैँ मौलाइरहेछन
अजम्बरी भएर
तिमीले नै रोपेर छोडेका
नेपाली भाषा साहित्यका युगीन अक्षरहरु
स्वरूप, शब्द, पदावली, वाक्य,
उपवाक्य, अनुच्छेद, परिच्छेद र संकथनहरुमा … !
ओ प्रिय आदिकवि !
कहिल्यै नवैलिने मखमली फुलजस्तै
फुलिरहेछौ तिमी रामायणका हरेक पङ्क्तिहरुसङ्गै
र त अपुर्व सुगन्ध छरिरहेछन
तिमीले नै गोडिदिएका मखमली अक्षरहरु
नेपाली भाषा साहित्यको मनमोहक फुलबारीमा !
ओ प्रिय आदिकवि !
कहिल्यै नअस्ताउने शुक्रतारा जस्तै
चम्किरहेछौ तिमी
आफ्नै प्रकाशले युगीन अक्षरहरुमा
त्यही अक्षरको उज्यालो छर्दै
उदाइरहेछौ ‘भानु’ भएर
फेरि कहिल्यै नअस्ताउने गरि
नेपाली भाषा साहित्यको अनन्त आकाशमा … !
ओ प्रिय आदिकवि !
जीवन्त इतिहासको स्वर्णिम पानाभित्र
सुनौला युगीन अक्षरहरुमा लेखिएर
सुन फलाउने तराई–मधेसका
तरेली परेका गैह्री खेतहरुमा
सुनका बालाहरुसङ्ग बयली खेल्दै
फक्रीदै पहाडका लालीगुराँस भएर
हिमालसङ्गै हासिरहेछौ तिमी
आफैंले हुर्काएका युगीन अक्षरहरुमा
ज्युदो वर्तमान भएर बाचिरहेछौ तिमी ।
ओ प्रिय आदिकवि !
अक्षरहरुको दियो बालेर
सदैव उज्यालोको आरती उतार्ने
तिमी महान पुजारी हौ ।
युगीन अक्षरहरुको अजम्बरी दियो
सल्काइदिएका थियौ र त तिमीले
त्यही उज्यालो पछ्याउँदै
हिंडिरहेका छौ अहिलेसम्म हामी .. !
तिनै अक्षरहरुको सघन उज्यालोमा
जीवनको मुलबाटो पहिल्याएर
गन्तव्यमा जाँदैगर्दा
हरेकक्षण तिमीलाई सम्झिरहेछौँ
तिम्रै नामको गायत्री जपिरहेछौँ
तिम्रै सन्तती अक्षरहरुलाई
माध्यम बनाएर अभिव्यक्तिको
हृदयको क्यानभासमा
तिम्रै सुनाम लेखिरहेछौँ … !
नेपाली भाषा साहित्यको प्रत्येक पानाभित्र
तिमी नै मुस्कुराइरहेको देखिरहेछौँ … !
वि.सं.२०७७ असार २९ सोमवार १२:०४ मा प्रकाशित




























