
जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा दिन
जन्मेको स्थल त्यो थियो तनहुँको, रम्घा चुँदी माझमा
हौ सच्चा अनुवाद गर्न सहजै, सक्ने तिमी साधक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब
. (१)
बाजे कृष्ण थिए धनञ्जय पिता, धर्मावती मातृका
सानैमा कविता सिलोक लयमा, भन्थ्यौ अरे सर्वदा
घाँसीबाट सिकेर पाठ गुनिलो, बन्दै गयौ साधक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब
. (२)
बाजेबाट भएर दीक्षित तिमी, भाषा बन्यो अमृत
लेख्यौ राम कथा अहा ! सुरसिलो, उल्था गरी संस्कृत
नेपालीपनको उजागर गरी, भाषा मिलायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब
. (३)
ती प्रश्नोत्तर आदि पुस्तकहरू, लेख्यौ नि रामायण
साँचो जीवनका व्यथा अनि कथा, लेख्यौ नियालीकन
सारा यी घरबार वर्णन गरी, साँचो बतायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै,हे भानु आऊ अब
. (४)
मोतीराम भएर माध्यम सबै, छापे जसै सिर्जना
तिम्रो कीर्ति समस्त फैलिन गयो, बढ्दै गयो तिर्सना
हाम्रा राष्ट्रविभूति, आदिकवि हौ, सम्मानका लायक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब
. (५)
(छ्न्द-शार्दूलविक्रीडित)
वि.सं.२०७७ असार २९ सोमवार १४:२३ मा प्रकाशित





























