
‘हामीले न्याय पाएकै छैनौं, हजुर’
जनताले सोधे-
‘हामी कसरी न्यायप्रेमी जनता भयौं ?’
उहाँले भन्नुभयो-
‘न्यायप्रेमी हुन न्याय पाउनैपर्छ भन्ने छैन,
न्यायलाई प्रेम मात्रै गरे पुग्छ
जस्तो कि एउटा केटाले केटीलाई प्रेम गर्छ’
‘हामीले कुनै मुक्ति देखेकै छैनौ, हजुर
भोकबाट, रोगबाट, शोकबाट या निराशाबाट’
जनताले सोधे-
‘हामी कसरी मुक्तिकामी जनता भयौं ?’
उहाँले भन्नुभयो-
‘मुक्तिकामी हुन मुक्ति पाउनैपर्छ भन्ने छैन,
मुक्तिको रहर मात्रै गरे पुग्छ,
जस्तो कि भगवानका भक्तहरुले गर्दछन,
कृष्णजीका, शिवजीका !’
‘हामी आजसम्म कुनै चिजका मालिक बन्न सकेका छैनौं
न घरको, न खेतको, न नदीको, न सिमानाको’
जनताले फेरि सोधे-
‘हामीलाई किन सार्वभौमसत्ताका मालिक भनियो ?’
उहाँले भन्नुभयो–‘त्यो त संबिधानमा लेख्नै पर्ने कुरा थियो
त्यो सबैले जान्नैपर्ने कुरा नभए पनि
त्यो नलेखी यत्रो परिवर्तन सम्भवै थिएन, त्यसैले’
‘अनि, अब अन्तिम प्रश्न, नेताज्यू
हामीलाई बिबेकशील, चेतनशील नागरिक चाहिं
किन भन्नुभयो नि हजुरहरुले ?’
उहाँले भन्नुभयो-
‘ए, यो त साँच्चिकै, प्रमाणितै कुरा पनि हो,
यसको जवाफ म यसरी दिन्छु
ध्यान दिएर सुन्नुहोला–-
तपाईंहरुकै तीब्र चेतनाको भरमा
तपाईंहरुकै बिबेकशील निर्णयको आधारमा
अहिले हामी सत्तामा छौं
र सहर्ष यो भनिरहेका पनि छौं
कि तपाईंहरु ढुक्क हुनुस्,
हामी अत्यन्तै इमान्दारीपूर्वक
बिना कुनै हिच्किचाहट
त्यो पछिसम्म पनि भनिरहेकै हुनेछौं !’
वि.सं.२०७७ भदौ २७ शनिवार ०९:४१ मा प्रकाशित






























