back
CTIZAN AD

कविता: छोरा (भाग दुई)

वि.सं.२०७७ भदौ २७ शनिवार

3.2K 

shares

छोरा,
मैले बेसाहा बोकेर हिँड्दा
देउरालीभरि तिम्रो नाउँमा पाती चढाएर हिँड्थें ।
आज तिम्रो पालो-
माथि यामाबुङ शिरबाट
एक डुको भैरुङपाती चुँडालेर
मेरो चिहानमाथि बालिदिनू !

म नश्वर चोलाबाट
बादलुको बस्तीमा दूर जाँदा
तिमी बालखै थियौ
थाहा थिएन बाबाको स्मृति
अरुलाई सोधि रहन्थ्यौ रे
‘मेरो बाबा कहिले आउनु हुन्छ कि ?’
सुन्थेँ मैले पनि यो तिम्रो प्रश्न
तर अनुत्तर हुन्थेँ म
कारुणिक लाग्थे तिम्रा लवज
कति बीभत्स हुन्थे ती कोमल आत्मा
एकोहोरिन्थे नौनी जस्तो तिम्रो आँखा
ठोकिन्थे सँघारभन्दा बाहिर
आँगनको डिलमा ।

सम्झिन्छु
म कति निर्दयी तिम्रो पापा भएँ
सुटुक्कै त्यो माथि
नाम्सालिङ शिरको कालो बादलु मा
तिमीलाई नभनी बस्ती बसालेँ
अनि चियाई रहेछु असिम भाकामा ।
हाय ! तिम्रो भाग्य
अब जलाऊ भैरुङपाती र
अङ्कमाल गर तेही चिसो चिहानलाई ।
अनि एक मुठी माटो उघाएर सुँघ
के त्यहाँ तिम्रो पापाको गन्ध थाहा पायौ ?

दलिदेऊ छातीमा ती माटो
चिच्याउ ‘बाबा’ भनेर बेस्कन
अनि तुर्क्याऊ अलिकति बिडम्बनाको आँसु ।
समाऊ माथा र चिच्याई चिच्याई रोऊ
म जस्तै तिमी पनि रुन जन्मेको रहेछौ ।
छोरा
आँसु रित्तिदैन कञ्जुस नगर झार्न ।

सुन कथा !
एक साँझ तिमीलाई मझेरीमा
थाङ्नाले बेहेरेर सुताएपछि
कुपीको धिमा उज्यालोमा
म अनि तिम्रो मामु साउतीमा बोल्यौँ
साउतीको भाकामा बिछोडको धुन बज्यो
पिल्पिले उज्यालोमा आँसुहरु टल्किए
यगुडाँडाको पहरामा शीत टल्के जस्तै ।
अँगालोमै बेरिएर प्रहरहरु निभे
त्यो आलिङ्गन बेदनाको रुखो प्रहार थियो ।
बिछोड र निरासाको अग्राखमा
कल्पनाको मीठो गुथीसँगै भोलि बिहान
तिमी निदाएकै बखत तिम्रो निधारमा
एक चुम्मा दिएर सङ्घार नाघेर गएँ ।

छोरा,
माथि देउरालीबाट फर्किएर हेरें
तर झिसमिसमा हाम्रो दरबार बिलाएकै थियो ।
अनि भैरुङ चुँडेर तिम्रै नाममा देउरालीमा चढाएर
विवशताको पाइला हिँडेको म ।
बिछोडको तितो बेसन बोके पनि
भावी सुनौलो आशा थियो ।
पुँगे सात समुद्रपारि
लेँखे चिट्ठी
बगाएँ पसिना
देँखे मीठो सपना
तर
छोरा
सुख फापेन जुनीमा
मलाई बिधाताले भेजो लगायो
शरिर दहन भो
निकम्मा भएँ
निरर्थक शिथिल ज्यानले
केवल तिमीलाई सम्झेँ
चिम्लें आँखा ।

अन्तिम हुटहुटीमा क्यार सेतो बायुपङ्खी घोडा
म तिर हानिएर आयो
लग्यो बुई गरेर पुर्यायो अनन्त क्षितिजपारि
यमराजको सन्दुकमा ।
यसरी
बज्रपातले खन्डहर बनायो नानू हाम्रो परिवार
अनि के भयो ? नसोध ।
त्यसपछि
दुई वटा काँचो बाँसमा
सेतो कफनले बेहेरेर
लाठेहरुले उचालेर काँधमा चढाए
अगर बत्तीको मुठो जलाएर यो डाँडामा पुर्याए
यत्ति सम्झना-
छातीमा फूलले हान्दै फर्किँदै थिए तिनीहरू ।
अन्तिममा दफन भयो चोला
खाल्डोभित्र तब बाँकीले
एक एक मुठी माटोले हिर्काएर
खाल्डो बुच्याए,
हो, त्यही दिनदेखि म यो बस्तीमा छु छोरा ।
सुन्यौ कथा ?
छोरा
तिमीसँग बाबाको बिरासत छैन ।
तिमीसँग त-
गहभरि आँसु होला
स्पन्दनमा क्रन्दन होला
पीडाको ज्वारभाटाले छाती थिचिएको होला
बीभत्स अतीतहरु होलान्
त्यसैले त
म नालायक पापा बनेँ ।
तर तिमीमा सपना कोरेको छु
आशा कोरलेको छु
खोज तिम्रा भाग्यहरु
कतै
जुनकिरीले बोकेर हिंड्दैछे कि ?
छोरा
मुन्धुमको मन्त्रबाट तिम्रो माङ्गेन्ना भको छ
जाऊ सिङ्जाङ्गो फूल भाँचेर सुँघ
युमाको आशीर्वाद छ ।
ती तिम्रो कारुण भावनामा
शान्ति जगाऊ !
चिम्ल आँखा र
निथार आखिरी आँशुका एक थोपा
चुहाउ मेरो चिहानमाथि ।
अनि नियाल आकाशको निलो धर्षाहरु ।
म त्यही शिरको निल गगनबाट
तिमीलाई चियाई रहेछु-
अनन्त अनन्त अनन्तसम्म !

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:५९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...