
अब पुख्यौली घरमा पारस र उनकी श्रीमती मात्र बाँकी रहे । छोराहरुको पखेटा लाग्यो । जागिरे भएपछि बिहे गरेर ती अन्य शहरतिर लागे । छोरी ज्वाइँको घर गइन् । जोडघटाउको जीवन दुईबाट सुरु भएको अन्तमा दुईमै आएर अड्कियो ।
चित्रकलाबाट आएको पैसाले उनको घर चलेको थियो । छोराछोरी सबैको चाहना पुरा भएको थियो । उनी ग्राहकको चाहनाअनुरुप चित्र बनाउँथे । क्यानभासमा उनको चित्र सजीवझैं देखिन्छ । साठी वर्षको उमेरमा पनि पारसलाई अझै केही गर्न सक्छु जस्तो लाग्छ ।
तर यसैबीच उनी रोगाउन थाले । खुट्टाको जोर्नी र ढाड दुख्न थाल्यो । श्रममा बाँच्ने कलाकारका लागि यो पीडा अझ घातक भयो । हातमा पेन्सिल र ब्रुस लिएर घण्टौंसम्म बस्नुपर्ने भएकाले ढाड दुखेर हैरान बनायो । डाक्टरकोमा गएर जचाउँदा नसा च्यापिएको, हड्डी खिइएको भने । औषधि गर्न अर्थको अभाव भयो । छोराछोरीलाई भने । उल्टो सबैले आआफ्ना समस्या सुनाए ।
ग्राहकहरू त आइरहन्थे तर खास काम हुँदैनथ्यो । एक जना मानिस पारसलाई खोज्दै आए । उनले आफ्नो बुवाको फोटो बनाइदिन आग्रह गरे । पारसले आफ्नो रोगले गर्दा फोटो बनाउन नसक्ने बताए । ती व्यक्ति गए ।
तिनै व्यक्ति भोलिपल्ट आएर भने ‘म डाक्टर हुँ, यो औषधि यहाँ लेखेअनुसार खानुहोला । म पछि आउँछु ।’ पारसको पीडा केही दिनमा नै कम हुन थाल्यो ।
पन्ध्र दिनपछि फेरि ती डाक्टर आएर तीन दिनमा बुवाको फोटो बनाउन भने । पारसले तीन दिनमा कसरी हुन्छ भनेपछि उनले हाँसेर भने कलाकारज्यू हजुरको पीडा तीन दिनमा हराएको हुनुपर्छ । मलाइ पनि तीन दिनपछि मेरो बुवाको जन्मदिनमा यो फोटो भए हुने । पारसले मुस्कुराएर भने ‘हस्, म पनि तीन दिनमा नै बनाइदिन्छु ।’
वि.सं.२०७७ भदौ २७ शनिवार १०:०२ मा प्रकाशित






























