कालो बादल त्यो उठेर कसरी ढाक्यो अकाशै भरि
गर्जेको अझ लौ छ मेघ नभमा उल्कै अचम्मै गरि
भुल्दैछन् ममता बुझेर पनि त्यो बिर्सेर आफ्नै धरा
कोलोहाल गरे मिलेर सब त्यो कुर्सी त देख्दै बरा
बिक्दैछन् कसरी भुलेर महमा आत्मा त बेच्दै कति
अर्काको भरमा हिडेर अति ती बन्दैछ आफ्नै खति
वैशाखी यसरी समाइ रहदा होला र के यो गति
ध्वस्तै भो धरती विनाश सहदै बिग्रेर हाम्रो मति
धर्ती स्वर्ग छ यो बुझेर सबले गुन्दै गएमा यहाँ
अग्लाती चुचुरा हिमाल हिउँका चुल्दैछ चाँदी जहाँ
बग्दैछन् छहरा झरेर झरना सौन्दर्य उल्कै छरि
यस्तै यो धरती कहाँ छ भन लौ पाइन्न धर्ती भरि
नेपाली जन यो मिलेर रहदा आफ्नै त धर्ती महा
ढुङ्गा त्यो सुन हुन्छ हेर सजिलै बल्नेछ हीरा यहाँ
खानीमा अझ त्यो असंख्य रहदा बेग्लै खजानाहरु
झारौ है पसिना मिलेर सबले खुट्टा त चाल्दै अरू
सारङ्गी मुरली बजेर स्वर त्यो गुञ्जिन्छ हाम्रो कति
आफ्नै यी गहना सुहाइ रहदा राम्रो छ राम्रो अति
रोदीमा बस्दै मिलेर रमने संस्कार हाम्रो भयो
धर्तीको ममता रहेर मुटुमा उल्कै त माया छ यो ।
छन्दः शार्दूलबिक्रीडित
वि.सं.२०७७ फागुन २२ शनिवार ०८:२३ मा प्रकाशित






























