मेरा आँखामा
एउटा दृश्य बिझाइरहन्छ,
त्यो चालीसे छोरोकी
साठीकी आमा
दैनिक सापटी खोजमा
बिहान सकाउँछे,
अबुझ छोरो
थाक्दैन रिस बोकेर
भोकको ज्वालामा
पिल्सिन्छे आमा ।
वर्षौवर्षदेखि
चलिरहेको छ उहीँ सिलसिला
छोरो आधा रातसम्म भट्टीमा
अर्धचेत छ
आमा बुझ्छे–
काम खोज्दै बाबू
कहाँ कहाँ सम्म पुग्यो होला
ईश्वरमा भरोसा गर्दै,
दिप बाल्छे
रोजगारीको याचनामा
हात फैलाउँछे
मध्ये रातमाआएर छोराले
हिसाब माग्छ
आमा बुझाउँछे
सुरक्षा भत्ताको बिबरण
बस्,
यत्ति फरक छ
आमा र संन्तानमा
जिन्दगीका हरेक बिहान र साँझमा
वर्षौदेखि म
एकादेशको यही कथा आफ्नै वार्दलिबाट हेरिरहेकीछु
निरन्तर मलाई बिझाइरहेछ
यी ब्यथालाई म कथा भनेर
लेख्न पनि सक्दिन
कति फरक छ
आमा र संन्तानमा
वि.सं.२०७७ फागुन २९ शनिवार ०६:५२ मा प्रकाशित






























