तिमी लेखिरहन्छौ
आफ्नो शरीरको
निलो रगत बगाउदैँ
कसैको भावनाको
हिउँद र बर्खाहरु
कि त फुलाउछौ
कसैको बसन्तको
सुनौला सुनखरीहरु ।
तिमी लेख्छौ अनि लेखी रहन्छौ
मायाका गीतहरु,
जून र ताराहरुको प्रसंसाहरु ।
तर कैलेसम्म लेख्छौ
यी एकतर्फी भावनाका लहरहरु ?
कैलेसम्म लुकाउछौ
यथार्थका भुङ्ग्रे ज्वरोहरु
औषधिको टेब्लेट र इन्जेक्सनको
विवरणपत्रहरुले ?
कैलेसम्म फर्काइ बस्छौं
आफ्नो पिठ्यु
शोषणको तितो झापडहरुबाट
नदुख्नुको अभिनय गर्दै ?
तिम्रो सुकोमल शरीरको
धारिलो टाउकोमा
खिया नपरोस्
मधुमेहको गुलियो
रस मात्रै निचोड्दा ।
तिम्रो निलो रगतको
तमाम बलिदानी व्यर्थ नजाओस्
भ्रष्टाचारको कालो पृष्ठहरुलाई
आवद्धताको सेतोजालोले
ढाकी बस्दा
अत्याचारी कालो पैतालाहरुले
नभाँचोस् तिम्रो अमूल्य शरीरलाई ।
वि.सं.२०७७ फागुन २९ शनिवार ०६:५४ मा प्रकाशित






























