
सिर्जनाका फूल रोपौं कल्पनाको बागमा
काव्य रच्दा भाव खुल्ने व्यञ्जनाको फाँटमा ।
जिन्दगीमा कर्म जागोस् तिर्सनाको भावमा
लेख लेखौं वन्दनाका सम्झनाकै रासमा ।। १
फूल झैं यो बैँस फुल्दा प्रीत बास्ना फैलियोस्
बासनाले छन्द भर्दै प्रेम गाँस्न जानियोस् ।
प्रेम रोपौं प्रेम खोजौं जिन्दगानी के छ र
फूल रोपे फल्छ मीठो हो जवानी केशर ।। २
दिन्छ पीडा जिन्दगीले प्यार चोखो गर्नु छ
साथ बाँचौं साथ मर्दै सार धोको फेर्नु छ ।
प्रेम बिर्से टाढिने हो भाल राम्रो ख्याल हो
हेर्छु तिम्रो त्यो जवानी खोल पर्दा झ्यालको ।। ३
चित्र हेर्दै पत्र लेख्दा भावनामा डुब्छु म
याद मीठो आउँदा पो सम्झनाले रुन्छु म ।
हात चुम्दै माथ चुम्दै गोधुलीमा डुल्नु छ
साथ प्यारो रात प्यारो काखमा गै भुल्नु छ ।। ४
लौन आऊ बैँस छर्दै पूर्णिमाको रातमा
फूल रोपें वाटिकामा जिन्दगीकै चाहमा ।
प्यास मेटौं आज भेटौं कल्पनाले भार भो
मुर्छनाका राग टिप्दै भार थेग्ने प्यार हो ।। ५
धन्य होला जिन्दगी यो सिर्जनाको साथमा
हुन्छ साँच्चै साथ प्यारो स्वाद मीठो बातमा ।
सिर्जनामा रम्छ मान्छे शब्द लेख्दै कञ्चन
काव्यधारा बन्छ साँच्चै व्यर्थ जाने जीवन ।। ६
ज्ञान बाँडौ ज्ञान साँचौ रित्तिदैनन् ज्ञान ती
मोह माया भार लाग्ने सम्झिदैनन् सारथी ।
धुन्दकारी मूर्ख हुन्छन् देव देवी सज्जन
जन्म लाखौं हुन्न होला जिन्दगानी गन्थन ।। ७
पाप गर्दा पाप लाग्ने धर्म गर्दै साँच्नु छ
जिन्दगीका भार थेग्दै चाह भर्दै राख्नु छ ।
जिन्दगीले दिन्छ धोका साथ के नै जान्छ र
डाह शंका हुन्छ धेरै भार कस्ले थाम्छ र ।। ८
सम्झनाका फूल रोपौं प्यार साटौं मञ्जरी
साथ देऊ जिन्दगी यो साथ काटौं सुन्दरी ।
शब्द कोरौं भावनाका काव्यधारा रच्नु छ
लेख राम्रा कोर्न आफै भावनामा डुब्नु छ ।। ९