जसोतसो जहान बच्चालाई दुईछाक जुटाँउदै आएका दिलाराम शर्मा हिजो ओछ्यानमै मृत अवस्थामा भेटीए, आज कमायो आजैखायो गर्नुपर्ने गरिबका घरमा अन्नको गेडोछैन । तिनवटा भल्ट्यांग भुल्टुंग छोराछोरी, दुःखले बल तागत खाएकी लुईरी परेकी श्रीमति गहभरि आँसु बोकेर भोलीका कालादिनहरूको तस्वीर आँखामा खेलाईरहे जस्ता देखिन्थे ।
गाँउलेहरू भेलाभए कसैले कात्रो, कसैले दाउरा, कसैले बाँस, आदी ईत्यादी जुटाउने सल्लाह गरे । अव दाहसंस्कार गराँउदा गर्नुपर्ने विधि विधानका लागि पुरोहितको खोजी गरियो ।
जो पनि भेटीन्छन् कस्को लागि ? भनेर सोध्छन । दिलारामको नाम लिने वित्तीकै ए ला ! हौ म ता अन्तै पो बुक भैसकेको छु त हौ भन्छ । पर्नु आपत पर्यो । वल्ल वल्ल लुरे बाजेलाई समातेर लु बाजे ! सारै आपत पर्यो । जे भए पनि तिमी बाहुनकै छोरो हौ जस्तो जान्दछौ त्यस्तै गर्देउ भनेर लुरेबाजेलाई फकाईयो । विचरा लुरेबाजे गरिव पनि थिए । सोझा र सरल पनि थिए । उनले अफ्ठ्यारो नमानी ल है मलाई त्यो गरिबको काजक्रिया गराईदिने अवसर दिनुभयो जे भएनि एउटा पुण्य कमाउने अवसर त पाएँ भन्दै खुसिपनि व्यक्त गरे ।
फेरि आज लगत्तै गाँउमा अर्का धनाड्यमा कहलिएका रत्नमणी बा को निधन भयो । त्यहाँ एक से एक बाँहुनहरू आ–आफैं हाँफ र झाँपगर्दै लु यता यस्तो गर उता उस्तो गर भन्दै एक अर्कामा प्रतिस्पर्धा गरेको देखियो । हिजो बुक भएका सबै खाली बसेको देखियो । धर्मानन्द बाजेले अभिभारा पाए । अरू कालो मुखलाएर घोसेमुण्टो परे ।
यता दिलारामको काजक्रिया शुरुभयो । गरिब दुःखी भनेर टाडा टाडादेखि सहयोग आउन थाल्यो । कसैले नगद,कसैले अन्न दिदाँदिदै त्यो परिवारलाई बर्षदिनलाइ पुग्ने अन्नपात भयो । एउटा संस्थाले काजक्रियाको सम्पुर्ण खर्च बिहोर्ने अभिभारा लियो ।
लुरेबाजेलाई पनि गरिब र सोझो बाहुन देखेर राम्रै दान दक्षिणा दिईयो । लुरेबाजेको दान दक्षिणा देखेर हिजो पन्छिनेहरू भने ‘नाफा खाने सुदको साँउपनि फुत्को ।’ भन्दै आफैंलाई धिक्कारी रहेका थिए ।
शब्द र अर्थ
सुद – व्याज
साँउ– साँवा रकम,मुल रूपैयाँ ।
वि.सं.२०७८ असार ५ शनिवार ०६:४९ मा प्रकाशित






























