एक ताल
जहाँ
मन बगिरहन्छ
छाल भएर ।
जून हौ कि तिमी
देखिरहन्छु
उनको सौंन्दर्यमा तिमीलाई
फेरि प्यास जगाउँछु ।
हो म फेरि बिहानी
भइरहेको अनुभूत गरिरहेछु
आकास आफुलाई सम्झेर ।
अलौकिक
ऐनामा जस्तै म भुल्दैछु ।
बहावको सन्दर्भमा
मेरो प्रकृति पानी भइरहेको महसुस गर्दैछु
म गहिराई सम्म बहन्छु
तिम्रो उचाईको वर्गीकरण गर्न
सायद त्यो मेरो उत्तेजना हो कि
म शिखरसम्म उक्लिरहेको हुन्छु
तिमीलाई मेरो महत्वाकाँक्षा ठानेर ।
बतासको बेग भएर
तिमी मसंग भएको संसर्गमा
कल्पना परिकल्पनाका हूल
आउँछन् आँखा सामु
मलाई रङ्गिन बनाउँछन् खेल्छन्
हो म डुब्छु
डुब्दै बगिरहन्छु तिमीसँग ।
कहिले म घामले पोत्दै गरेका
वीर तृष्णाहरू देख्छु
कहिले साँझ घायल भएर
नैराशिएका पिडाहरू देख्छु
कहिले रात असहाय भएर
अन्धकारसंग लुटपुटिरहेको दृश्य देख्छु
सायद म क्यानभास हुँ कि
तिम्रा अद्भुत अद्भुत दृश्यहरूको ।
हो आज इतिहासका अक्षर भनी
पढ्दैछु आफैलाई
पौराणिकता भुल्दै वर्तमानको छायाँ भनी
खोतल्दैछु आफैलाई
जीवनका पानाहरू तिमीसंग जोडेर ।
आणविक दृश्य नहुन् सारा सपना
अचम्मित सौगात नभई दिऊन्
हामी भएका सबै अर्थहरू ।
शोच्दैछु
प्रश्न उत्तरहरूको धडकनमा डुब्दै
ताल मेरो बिपना भएर
भनिरहन्छ
म तिमीहरूका मनको तस्वीर हुँ
जहाँ म हामीलाई देख्छु
किनार नभई सतह भएरै हाँसिरहेको देख्छु
तृषित आवेग जस्तै ।
पुच्छु आँसु
कतै स्खलन व्यर्थ नहोस् भनी ।
एक ताल
जहाँ
मन बगिरहन्छ
छाल भएर ।
वि.सं.२०७८ साउन ३० शनिवार ०७:०७ मा प्रकाशित






























