अग्ला शैल हिमाल सुन्दर छटा छोडेर मुस्काऊँछन्
लाली पोत्न भनेर भानु शशिले चाँढै गरी धाउँछन्
धर्ती वक्ष उठाउँदै गगनमा आनन्द देखाउँछिन्
लोभिन्छन् जब ती समीर उनले डाकेर भित्र्याउँछिन्।।१।।
हीरा छन सब वक्ष भित्र सजिने मोती बसे सागर
धर्तीको रमिता नियाल्न मनमा लाग्ने हुँदा जाँगर
गर्छन भानु लुकाउँदै शशिकला सौन्दर्य चुम्दै अति
गर्थे धेर बयान हेर कविले बन्दो भयो भाश्वती।।२।।
भन्छन् चाँप, सुनाखरी सगरको तारा खसाऊँ कित
डुल्दैछन् भमरा र फूल रसमा लट्केर आनन्दित
पानीका जति मूल छन् सलिल ती झर्ना बनी झर्दछन्
झर्दा हैम पहाडमा मनुज ती गल्दैन जो मर्दछन् ।।३।।
सेतो हैम पहाड दिन्छ जहिले पीयूष जस्तो जल
लाखौँ मूल नदी भएर बहने गर्छन् खुसीले तल
छन् पाखा हरिया वसन्त ऋतुमा बोलाउँछन् कोइली
गैँडा बाघ बनेल बस्छ मनुवा बस्छन् सबै ती मिली ।।४।।
फल्दैछन् ऋतुका मनोहर सुधा फुल्छन् कुनै हर्षले
वैसाखे महिना वसन्त ऋतु हो डाक्यो नयाँ वर्षले
वास्नादार फुले पलाँस नफुली सक्दैन धर्ती भरि
मेरै मात्रृ विचित्र हो प्रकृतिको हुन् शोडषी सुन्दरी ।।५।।
छन्द: शार्दूलविक्रीडित
हरि प्रसाद घिमिरे
सिरान्चोक –३ हर्मी, गोरखा
वि.सं.२०७८ माघ २९ शनिवार ०८:२९ मा प्रकाशित






























