मचिन्द्र खत्री, धरान
हलो समाई, अब जोत्न थालूँ
गरो र आली अब पोत्न थालूँ ।
मुरी र मानो तब फल्छ राम्रो
असार आयो अब रोप्न थालूँ ।। १
प्रभात भाले जब बास्छ साथी
झुले र मालेसँग साथ राति ।
फिरेर आएँ घरबास मालु ।
असार आयो अब रोप्न थालूँ ।।२
ल हेर अग्ला सब बीउ देख्छु
घुमेर साँबा अनि आली छेक्छु ।
म खान्छु खाजा उसिनेर आलु
असार आयो अब रोप्न थालूँ ।।३
जुना र कैली जब रोप्न थाल्छन्
गला र भाका स्वर एक हाल्छन् ।
ठुली र सानी अति छन् लजालु
असार आयो अब रोप्न थालूँ ।।४
हिलो बनायो गजबै छ दाँदे
छ एक गोरू शिरमाथि चाँदे ।
यतै छ सानो वन लाग्छ भालु
असार आयो अब रोप्न थालूँ ।।५
च्युरा दहीको दिन पन्द्र हो यो
र आँप केरा जब मिल्छ जो त्यो ।
मुछेर खाजा भरपेट हालूँ
असार आयो अब रोप्न थालूँ ।।६
झमक्क ठूलो जब पर्छ साँझ
पिलिक्क झिल्को अब गर्छ काज ।
टरर्र पाहा गर छन्द चालु
असार आयो अब रोप्न थालूँ ।।७
छ गीत मीठो धुन यो असारे
गला छ मीठो सुन ए सुसारे ।
सकिन्न मेलो पनि राख्नु चालु
असार आयो अब रोप्न थालूँ ।।८
बले र हर्के पनि आज आए
भरेर डोको मल शुद्ध ल्याए ।
हुँदैन रोपो अब यो विषालु
असार आयो अब रोप्न थालूँ ।।९
अनौँ र लौरो दिलले समाई
असार भन्दै सहजै रमाई
ह आ ह होरा जब भन्छ कालू
असार आयो अब रोप्न थालूँ ।।१०
सिमे र भूमे अनि देवदेवी
पुकार गर्दा मन भो सफेदी।
पुजेर धर्ती म हिलो पगालूँ
असार आयो अब रोप्न थालूँ ।।११
शब्द र अर्थ : मालु = ठाउँ बिशेष
छन्द : उपेन्द्रवज्रा
वि.सं.२०७९ साउन १४ शनिवार ०८:१५ मा प्रकाशित






























