निर्मल रमण पराजुली, सामाखुशी, काठमाण्डौ
१
दशैं आउँदा खुशि लाग्थ्यो, आफू सानै हुँदाखेरि
खान लाउन पाईन्थ्यो जहाँ, निहुँ खोजेर रुँदाखेरि
बा आमालाई खर्च टार्न, कति मुस्किल हुँदोरैछ
अहिले बुझ्छु ब्यबहार धान्दा, आफ्नै आँशु चुँदाखेरि
२
दशैं आयो पीरै लाग्छ, खर्च बर्च टार्नु कसरी
नातागोता पाहुना आउँदा, अब खुशी पार्नु कसरी
राम्रो लगाई मिठो खाने, रहर गर्छन् छोराछोरी
कठै ! तिनका रहर मारी, मैले आँशु झार्नु कसरी
३
देखासिखि तडक भडक, गर्नुहुन्न है चाडपर्बमा
आफ्नो औकात भन्दा पर, सर्नुहुन्न है चाडपर्बमा
चाडबाड भन्दै भई नभई, अनावश्यक खर्च गरि
पछि टाउको खाने ऋणमा, पर्नुहुन्न है चाडपर्बमा
४
आशिर्बाद नै ठुलो दशैमा, शिर झुकाऔ सब जनले
दशैं मनाऔं खुशि हुँदै, सबै जना आत्मिय पनले
दक्षिणा भन्दा आशिर्बादनै, हितकर यो अवसरमा
भित्रैदेखि खुशि हुँदै, दिईयो भने पबित्र मनले
५
टीका लगाउने र लगाईदिनेको, सम्बन्ध सुमधुर हुन्छ भने
एक अर्कालाई पीडा हुँदा, साँच्चै मन रुन्छ भने
टीका लगाउनु र लगाईदिनुको,अर्थ त्यो बेला मात्र हुन्छ
जहाँ आशिर्बाद दिंदा लिंदा, भित्रैसम्म छुन्छ भने
वि.सं.२०७९ असोज ८ शनिवार ०६:३९ मा प्रकाशित






























