उत्तम विचार, काठमाडौं
फुलून् डालीमा ती सुमन नफुली झर्नु नपरोस्
यहाँ कोही मान्छे पलपल मरी बाँच्नु नपरोस् ।
यिनै इच्छा पूरा अब किन नहून् आस म गरूँ
मलाई चिन्ताले हरपल डसी प्रश्न नगरून् ।।१।
लिई आस्था मान्छे असल मनले मन्दिर पुगून्
बिरालो झैँ लोभी नर किन बनून् द्वार नढुकुन् ।
बनी भोको आफ्नैं उदर जहिल्यै भर्न नसरून्
मलाई चिन्ताले हरपल डसी प्रश्न नगरून् ।।२।
न एक्लोले खाई सकल जनको पेट भरियोस्
न एक्लै आवादी सहर घरको बास रचियोस् ।
डुबाई बस्तीका घर नहरमा फुत्त नतरून्
मलाई चिन्ताले हरपल डसी प्रश्न नगरून् ।।३।
विलासीता अग्ली महल नभमा दग्ध नगरोस्
बनी भ्रष्टाचारी मुलुक नभनी लुट्न नसरोस् ।
सबै प्राणी बाँचून् असमय कुनै जन्तु नमरून्
मलाई चिन्ताले हरपल डसी प्रश्न नगरून् ।।४।
बनून् मान्छेजस्ता मनुज किन हुन् दानवसरि
बढून् सेवाभन्दै कर कमलले अर्चनगरि ।
बनी आफैँ भोको गरिबजनको भाग नहरून्
मलाई चिन्ताले हरपल डसी प्रश्न नगरून् ।।५।
छन्द : शिखरिणी
वि.सं.२०७९ पुस २३ शनिवार ०७:१० मा प्रकाशित






























