गणेश नेपाली, पाल्पा
साँझ अँध्यारो–अँध्यारो भैसकेको थियो । बिर्खे पनि पसल बन्द गर्ने तरखरमा थियो । एक्कासी एउटा लुतेलुते पातलो मान्छे झुल्किएर भन्यो,‘तपाईंले चार/पाँच दिनमा पच्चिस हजार चन्दा तैयार पार्नु । पार्टी निर्माणका लागि पसल हेरिकन पैसा उठाउने पार्टीको आदेश हो ।’
बिर्खे अक्क न बक्क भयो । भित्र–भित्र उसको मुटु काप्यो । ठूलो शाहस गरेर बोल्यो, ‘हजुर मैले भरखर पसल खोलेको एक बर्ष पनि भाछैन । बुढिको तिलहरी, सिक्री बेचेर र ऋण गरेर पसल खोलेको हुँ । कसरी सक्छु त्यतिका पैसा दिन ?’ ऊ फेरि एक्कासी कडकियो,‘सर्वहारा र तपाईं जस्तै जनताको मुक्तिको लागि हामी लडिरहेका छौ । पार्टी र संगठन बलियो बनाउन चन्दा उठाउने हाम्रो मुख्य अभियान हो । जसरी हुन्छ गराउनु नत्र …।
बिर्खेले श्रीमतीसङ्ग सल्लाह गर्यो, ‘अस्ति चन्दा उठाउन आउने तिम्रो माइती गाउँको रहेछ । यसो दाजु भाईसँग कुरा गर्न लगाएर थोरै घटाउन लगाउन ।’ माइती दाजु भाईहरुको पनि जोर नचलेपछि पैसा जसरी पनि हाजिर गराउनै पर्ने भो ।
समय बित्दै गयो । देशमा जनताको व्यवस्था आएको ढवाङ्ग फुकियो । हिजको सानो तिनो व्यपारी बिर्खे टाट पल्टिएर बुढाबुढि नै निमेक गरेर खाने स्थितिमा पुगे ।
आफ्नो कहाली लाग्दो जिन्दगीलाई धिक्कार्दै बिर्खेले बुढीसङ्ग गुनासो पोख्यो, ‘हामी जस्ता हजारौ जनताका सपना मरे पनि सपना देखाउने नेताका महल,फ्याक्ट्री जन्मिएकै छन । ठूलो परिवर्तन भयो भन्छन खै कहाँ भएछ परिवर्तन कुन्नी ।
बुढाको कुरामा हराइरहेकी बिर्खेकी बुढीले सुइया सुस्केरा काढदै आँखाभरि आँसु टिलपिल गराउदै बोलि,‘हिज खाई नखाई दर्जनौ पटक चन्दा दिने खाना खुवाउने हामी आज सडकमा छौ । तीनै चन्दा असुल्ने लुते लुरेहरु आज ठूला महल, होटल र फ्याक्ट्रीका मालिक बनेका छन् । त्यही त होला नि परिवर्तन बुढा ।’
वि.सं.२०७९ चैत २५ शनिवार ०९:११ मा प्रकाशित






























