निम्बतरु, अर्घाखाँची
दुनियाभरको लेठा बोकेर हिँडियो
एउटा मात्र
जात्रा गर्न सकिएन
जात्रा गर्न सक्नु पनि खुबीको कुरा हो
उहाँ जात्रा गरेर विचित्र छ ।
सधैं झमेला बोकेर हिँडियो जिन्दगीको
एउटा मात्र
सकिएन गर्न जात्रा
जात्रा गर्न सकेको भए म नेता हुन्थें
कि सन्त हुन्थें
देवता हुन्थें
जात्रा हुन्थ्यो ।
गाउँमा
जात्रा गर्न
कि कसैको साँधी मिच्नु पर्यो
कि कसैको फरिया÷ कछाड तान्नु पर्यो
कि वापती लाग्नुपर्यो
कि नेता हुनुपर्यो
कि फागु खेल्नुपर्यो
कि रत्यौली गाउनुपर्यो
कि अरुको बारीमा साँढा हुल्नसक्नुपर्यो ।
तब जात्रा हुन्छ ।
शहरमा
जात्रा गर्न
गल्लीभरिको कुकुर भुकाउन सक्नुपर्यो
कि रक्सी धोकेर चिच्याउन सक्नुपर्यो
कि बहुलाएर टाउकोमा सुरुवाल लाउन सक्नुपर्यो
कि गाली गर्न सक्नुपर्यो दरबारलाई
कि मोसो दल्न सक्नुपर्यो दरबारियालाई
यति गर्न आफू मान्छे भईखाएको बिर्सन सक्नु पर्यो
कि आफू बाहेक अरु भेडा हुन् ठान्न सक्नु पर्यो
कि कार्तिके कुकुरले झैं अचम्मको गन्ध फाल्न सक्नुपर्यो ।
जिन्दगीमा
एउटा मात्र
जात्रा गर्न सकिएन
बाटो लागेपछि टाङपिच्छे
पिसाब गर्न बाहेक अरु सकेको भए मर्नु !
जात्रा छ उहाँ ।
वि.सं.२०७९ चैत २५ शनिवार ०९:११ मा प्रकाशित






























