निरूविन्दु, जल्ढक्का कालेबुङ्, भारत
सत्यले जब कलियुगको कोखमा
गर्भधारण गर्छ ।
तब जन्मिन्छ, एकजना शिष्ट र प्रवर्तक आत्मा
कैंयौं जीवात्मा सङ्ग्रह गरी निर्माण गर्दो हो
’दयाशील हृदय’ शताब्दीहरूले,
जीउनलाई सय वर्ष होइन
दुई दिन नै काफी छ
अपितु –
तिम्रो कर्म सय वर्षसम्म याद गरोस् दुनियाँले
कुनै महात्माले भनेका छन्
‘प्रार्थना गर्ने ओंठ भन्दा सेवा गर्ने हात ठूलो!’
त्यसैले उनी भन्ने गर्छिन् ‘दान नै धर्म हो !’
यहाँ त मानिस,
मनको ब्याङ्क खाली पारेर
तिजोरी भर्दैछन्
आफू उभिएको ठाऊँबाट
खोई किन हो कुन्नी,
अनौंठो दौड् देख्छ सेवाभावलाई
तर, उ
ब्याङ्क ब्यालेन्स होइन
दिन दुःखीहरूबाट संकलित
आशिर्वादहरू सङ्ग्रह गर्दैछिन्
कुनै कविले लेखेका छन्
‘खाली हात आएथ्यौ र खाली हात जानेछौं
धन सम्पति आफन्त छोडी धर्म पूण्य लानेछौं ।’
यो बेला, देशले शिर ठड्याएको छ
र रमाएको छ मठ् – मन्दिर र धर्मस्थलहरू
नाचेको छ झरना, नदी र प्रकृतिहरू
र बाँचेको छ यहाँको माटो अनि धरती
हे युग !
तिमीले असंख्य गिभिनाहरू जन्माउनु छ
र उच्च राख्नु छ जातीको नाऊँ
गिभिना !
तिमीले खोल्नु छ एउटा कारखाना
अनि, निर्माण गर्नु छ थुप्रै – थुप्रै मानवताहरू
हरेक आमाका कोखहरूले
गिभिनालाई गर्भ राखुन्
हरेक गर्भवती कोखहरूले
गिभिनाहरू जन्म दिउन्
यो बेला, देशले शिर ठड्याएको छ
र रमाएको छ मठ् – मन्दिर र धर्मस्थलहरू
नाचेको छ झरना, नदी र प्रकृतिहरू
र बाँचेको छ यहाँको माटो अनि धरती
आज धेरै दिन पछि सागरमाथा हाँसेको छ !
हरेक मन – मुटुको धड्कन् हौ तिमी
चारै युगले जन्माएकी छोरी हौ तिमी
तिमी गि – गिरिशृङ्ग !
तिमी भि – भिषक् !
तिमी ना – नायिका !
निःसङ्कोच तिमी नेपाली ‘मदर टेरेसा’ !!
वि.सं.२०८० असार ९ शनिवार ०७:३४ मा प्रकाशित






























