सुनिता निरौला पौडेल
भक्तपुर – राधे, राधे निकोशेरा
‘नेपाल बसेर के गर्नु ? पढाइ भएर पनि राम्रो काम पाइन्न । म त जान्छु होला बिदेशतिर ।’ दिक्क मान्दै साथीलाई भन्यो उसले ।
‘आ…, के कुरा गर्छौ साथी, यहीँ नेपालमा बसेर राजनीति गर न । कस्तो मालामाल छ राजनीतिमा ! तिमी किन बिदेश जाने सोचाइमा छौ ?’ उसले चकित पार्दै साथीलाई भन्यो । तर उसले भने बिदेश जाने निर्णय गर्यो ।
अलिक दिनपछि राम बिदेश गयो । यता श्याम भने राजनीतितिर लाग्यो । हेर्दाहेर्दै मन्त्री पनि भयो , अकुत पैसा कमायो उसले । केही महिनापछि फोनबाट उनीहरुको कुराकानी भयो ।
‘अरे राम, नेपाल आउन यार ! म तिमीलाई मन्त्री बनाईदिन्छु, मालामाल छ राजनीति गर्न जान्यो भने ।’
‘ओहो ! हो र भन्या ? त्यसो भए त म तुरुन्तै नेपालमै आउँछु । यहाँ घडीको सुईको भरमा काम गर्नुपर्छ। त्यहाँ बरु गफ लडाएरै पनि पैसा कमाइन्छ भने आइहालेँ म नेपाल ।’
दुबैजना साथी राजनीतिमा पसेर मन्त्री भएपछि उनीहरुलाई चिठ्ठा परे जस्तो भयो । आफ्नो –आफ्नो काममा व्यस्त भए उनीहरू। एकदिन उनीहरुको भेटघाट भयो ।
‘हो रहेछ श्याम, आज तिमीले गर्दा म करोडौं धन कमाएँ । धन्य राजनीति र मन्त्री पद । तर…’
‘के तर, स्पष्ट भन न राम ।’
गम्भीर हुँदै रामले जवाफ दिए, ‘के यो धन सजिलै पचाउन सकिएला त श्याम ?’
वि.सं.२०८० असार १६ शनिवार ०८:५५ मा प्रकाशित






























