भुवन शिवाकोटी चौघरे, काठमाडौँ
मैले
प्रथम गुरु जन्मदाता भनेर चिने
पहिलो विद्यालय घर आँगन भनेर बुझें
द्वितिय गुरु
दिदी र दाजुहरू आफन्त भनेर बुझें
जसले
जीवनको प्रारम्भमै मलाई हिड्न सिकाए
दगुर्न सिकाए
आफ्नै खुट्टामा उभिन सिकाए
जति जीवनका दिनहरू थपिदै गए
उतिनै गुरुहरू थपिदै गए
कसैले राम्रा कुरा सिकाए
अँध्यारोबाट उज्यालोतिरको बाटो देखाए
सकारात्मक जीवनको बाटो चिनाए
कसैले नराम्रा कुरा सिकाए
उज्यालोबाट अन्धकारको बाटो धकेले
जे होस् !
जीवनका हर खुड्किलामा
मैले गुरुहरूबाट
थुप्रै
थुप्रै
थुप्रै ज्ञान सिकें
जसले
स्वाभिमान, अहिंसा–मानवता
सत्यनिष्ठा
सत्कर्म
सत्धर्मको बाटोमा
अविचलित उभिन र स्वस्थ जीवन बाँच्न सिकें
यसर्थमा
जीवनका हर पाइलामा
म
ज्ञात अज्ञात सबै गुरुहरूमा नमन गर्दछु
जीवनका खरा संघर्षमा विजय हुन
एकदिन
बाटोमा हिड्दा हिड्दै
जब म लडें
गोडाका औंलामा खपिनसक्नु पीडा भो
दर्द सहेर ठेस लागेको जमिनमा हेरे
ढुङ्गा उभिएको रहेछ
रगत बगिरहेको थियो
पीडा असह्य थियो
सोधें
म किन लडें ?
उसले (अर्थात ढुङ्गाले)मौनता तोडेन
तर
कुल्चिएको जमिन हेर्न निर्देशित गर्यो
निहुरिएर भुँईमा हेरें
खुट्टामा चोट थियो
ढुङ्गामा औंला ठोकिएका थिए
त्यतिबेला
बाटोमा खुट्टा भएपनि
क्षितिज हेरिरहेका मेरा आँखामा
म पीडाले व्याकुल हुँदा
ऊ
अर्थात् पत्थर
मुस्कुराईरहेको थियो
जीवनकै यो पहिलो घटना थियो
मैले बुझेको थिएँ
बाटोमा हिड्दा के भुल गरें
यस अर्थमा
गुरु दर्शनशास्त्र मात्रै होइन
गुरु ज्ञानमात्र होइन
यस अर्थमा गुरु मानव मात्र होइन
गुरु सर्वव्यापी छन्
गुरु अमुर्त पनि छन्
प्रकृतिमा
ढुङ्गालाई ढुङ्गै भनेर चिनिएपनि
ढुङ्गामा जीवन नभएपनि
ऊ देवता मात्र बनेन
मन्दिरमा मात्रै पुजिएन
मेरो जीवनमा गुरु पनि बन्यो
र त्यो ज्ञान
म तपाईसँग बाँडिरहेछु ।
वि.सं.२०८० असार २३ शनिवार ०८:०० मा प्रकाशित






























