कुञ्ज देवी उपाध्याय,असम, भारत
कहिले सृष्टि भयो ?
मान्छेले इतिहास लेख्यो कि
इतिहासले मान्छे खोज्यो !
सुनेका कुराहरू सबै सत्य हुँदैनन्
सत्य लुकाउन खोजे पनि लुक्दैन
हावा,पानी सधैँ एकै छ
बदलिएको छ धारणा
आज कोही सुन्दैन
कोही बुझ्दैन
माटो एउटै हो
हलोको फलामले पल्टाउँने ठाउँमा
पल्टाइन्छ ट्रैक्टरले
फसल एउटै हो
फल्छ एकै समयमा
सबैको घरमा
भिन्नता
बीउमा हुँदैन
आफ्नो सोच सही छ
वरिपरि सबै बाताबरण राम्रो देख्छु
कसैलाई चिन्दिनँ
सबैलाई सही मान्छु
त्यसैले त म जिउँदै छु
दिन राति आउँछ जान्छ
जान देउ
रात परेन भने कसले बुझ्ने
दिउँसोको महत्व !
मान्छेले सृष्टि गरेको इतिहाससँग
थपि देऊ तिम्रो अनमोल इतिहास
नयाँ देश निर्माण गर्न
छातिमा हात राखेर
को भन्न सक्छ
ऊ निर्धक्क छ
ऊ स्वच्छ छ
कतै न कतै
उसको पनि दाग छ
लोभ मोह पाप पुण्यको
दस्तावेज हो जीवन
त्यसैको आधारमा
बनिएको छ इतिहास
पहिले पनि
बनिन्छ
अब पनि
फरक खोई
हिजो र आजमा !
वि.सं.२०८० असार २३ शनिवार ०८:०७ मा प्रकाशित






























