समीप बैरागी, रोल्पा
आयो, एक दिन मजदुरको झुप्रोमा
परैबाट जोडेर – दुइहात
एक जना दुर्लभ मानिस ।
र, भन्यो –
दिलासा !
तिम्रो र हाम्रो बीचमा कुनै विभेद छैन
र, छैन कुनै जात – सानो, ठूलो ।
हाम्रो सम्बन्ध त –
माछी र पानीको जस्तो हो
नङ र मासुको जस्तो हो ।
तिम्रो हातमा छ
मेरो भाग्य लेख्ने शक्ति
लौ न यसपटक
मेरो भाग्य लेखिदेऊ तिमी
तिम्रो भाग्य म लेखिदिने छु ।
त्यसपछि… ?
पिउनु पर्ने छैन
भोक मेटाउन – नुनिलो आँसु
निदाउनु पर्ने छैन
खाली पेटलाई – पटुकीले कसेर
स्वीकार्नु पर्ने छैन
तिम्रा बच्चाहरूले – अकाल मृत्यु ।
सोँचे –
संसार विस्वासमै त चलेको छ
र , लेखिदिएँ उसको भाग्य – मतपेटिकामा ।
जब चम्कियो, उसको भाग्य
ऊ अलप भयो, गाउँबाट ।
अचेल आकलझुक्कल
मेरै झुप्रोको आँगन हुँदै जान्छ
त्यो दुर्लभ मानिस ।
सायद –
हराइ गएछ क्यारे – बिला समाउने खेलको दौडमा
दुःखीको कारुणिक दृश्य हेर्ने चश्मा ।
नबोली जान्छ /नहेरी जान्छ ।
तर…
उसको अनुहारले भनिरहेको हुन्छ
दिलासा !
हाम्रो सम्बन्ध त –
बर्खाको खोलो जस्तो मात्रै हो
फूल र भमराको जस्तो मात्रै हो ।
वि.सं.२०८० असार २३ शनिवार ०८:१५ मा प्रकाशित






























