ओम आचार्य, अर्घाखाँची
जतिपटक आयो
ऊ सरक्क आएको होइन,
सधैजसो सकसले नै आएको हो ।
थुप्रै सिउँदो पुछेर
थुप्रै काख रित्त्याएर
जान अन्जानमा रगत बगाएर
अलिकति अगुल्टा ठोँसेर
कैयन जगल्टो कँसेर
कतै षडयन्त्रको जाममा फसेर
खोच्याउँदै खोच्याउँदै आएको हो ।
नियति भनौँ
पटक पटक गयो
पटक पटक आयो,
सात तिरबाट शुरु भएको क्रम
बेलाबेलामा घर शान्ति गर्छ
ग्रह कटाउँछ
दोष मेटाउँछ
तैपनि बुझ्दैनन् साढेसातीहरू
आजभोलि त मान्छेले भन्न थालेका छन्
माटै उस्तो÷ घडेरी नै उस्तो
कसो भयो कसो ?
सतीको सरापै पो हो कि जस्तो ।
पछिल्लो पटक आउदा
मक्किएको संस्कृतिको जुँगा उँखेलियो ।
वर्णसङ्कर अवतारमा
अजम्मरी बुटी हो भन्थे
दुनियाले पत्यार गरेकै हो ।
तर पनि कुनाकाप्चाबाट
पराइ बलको गोल बोल
नसुनिएको होइन गाइँगुइँ
पटके वारेसनामा
काखी च्यापेका जम्लेहात
अझै पनि स्तुतिको लाम छ धाममा
फर्किन्छ भन्ने नाममा ।
त्यसैले होला
इतिहास दोहोरिन्छ कि क्या हो ?
शंका गर्छन् केही हुईँया सेनापतिहरू
यसमा दम छ कि खोकी ?
जोगी छ कि भोगी ?
वैद्य छ रोगी ?
तल झर्दैछ गरेको अनुमान
कहाँ पुगेर सकिन्छ ओरालो
उता पर्खँदै होला अर्को उकालो ।
अनि
अतास घरिघरि हेरेर जान्छ
दुलो भित्रबाट मुसाले जस्तै ।
वि.सं.२०८० भदौ १६ शनिवार ०८:३८ मा प्रकाशित






























