बद्री उप्रेती, नयाँबजार, काठमाडौं
१
दशजना मान्छेको मुख दशतिर फर्केपछि
राम्रै कुरा गर्दा ‘नि बेकार झनक्क झर्केपछि
आफ्नो बानी सुधार्न बेलाछदै सोचिएन भने,
पछुताएर काम हुन्न हातको समय घर्केपछि ।
२
अचेल मात्र हैन ‘नि म, यस्तै थिएँ पहिले पनि
आफ्नो भन्दा अरूकै भलो सोचेँ जहिले पनि
अन्जानमा त पुर्याएँ कि तर जानाजानी मैले,
ठेस पुरÞ्याइन भावनामा, अरूको कहिले पनि ।
३
छरिएर रहेका ती, एकै ठाउँमा जुटेका छन्
फुटेका त हुँदै हैनन् देखाउनलाई फुटेका छन्
हाम्रो रगत पसिनामा होली खेल्दै यी नेताले,
लाजसरम नराखेर, हामीलाई नै लुटेका छन् ।
४
आफ्नै जस्तो ठानेर मनको कुरा खोलेको हो
छलकपट छैन रत्ति, हाँसेर मात्र बोलेको हो
छल छैन रत्ती भनी कसरी देखाऊँ चिरेर छाती,
मेरो मन त सफै छ, तिम्रो मात्र पोलेको हो ।
५
झुटको खोल ओढ्नेहरू सत्य बोल्न डराउँछन्
कुरा बुझ्दैनन् पटक्कै बिनसित्तिमा कराउँछन्
यो त थाहै छ, भन्नै पर्दैन यहाँहरूलाई, जस्तै
छाया अँधेरोमा आफ्नाहरू अप्ठेरोमा हराउँछन् ।
वि.सं.२०८० मंसिर ९ शनिवार ०८:३५ मा प्रकाशित






























