गणेश खतिवडा, गल्छी, धादिङ
१.
मनमा अस्थिरता छा’को बेचैनी बढ्दै गाको बर्षौ बितेछ
आफ्नै दिल र दिमागनि एक्लैएक्लै भाको बर्षौ बितेछ
आफ्नो रहरहरु मारेर अरुकै खुसीमा रमाई रहँदाखेरी
आज यस्सो सम्झेँ, आफ्नो खुसी हर्ष हराको बर्षौ बितेछ ।
२.
राखिएन भने क्षमता सहनै गार्हो पर्न सक्छ
सरल समस्या जटिल बने गार्हो पर्न सक्छ
केही बोल्नु पर्दा संयमित भई बोल्नु होला
नत्र गलत अर्थ लाग्यो भने गार्हो पर्न सक्छ ।
३.
बरु सम्बन्धमा नै ठेस लागोस् केही भन्दिँन ।
आँसु नै खसोसु्चित्त दुखोस् केहि भन्दिनँ
तिमिलाई दुःख सुनाई हाँसोको पात्र बन्नु भन्दा
मनको कुरा मनमा नै होस् केही भन्दिनँ
४.
जिन्दगी, धरापमा अड्केको छ यति भन्न चाहेँ
देखेका जतिलाई रमिता नै बनेको छ यति भन्न चाहें
हिजोआज के छ खबर भनी सोधिरहने हरुलाई
आजसम्म दुई मुठ्ठी सास अल्झेको छ यति भन्न चाहेँ ।
५.
के हो दुःख अनि के हो पिर यति भनिदिन्छु
गतिशील जीवन कसरी भयो स्थिर यति भनिदिन्छु
कसैले मेरो असफलताको कारण सोधिहाले भने
भाग्य पनि चाहिने रहेछ आखिर यति भनिदिन्छु ।
वि.सं.२०८० मंसिर २३ शनिवार ०७:५२ मा प्रकाशित






























