back

कविता : मेरो नाक चुच्चो छ

वि.सं.२०८० माघ १३ शनिवार

795 

shares
NTC AD
Global IME AD

मातृकाप्रसाद दाहाल
सूर्योदय न.पा. ८, इलाम

मेरो ठुलो आँखाले कञ्चनजङ्घा हेर्दिन
त्यो त चिम्से लाप्चाहरुको इष्टदेव रे !
किराँतहरूको पारुहाङ र सुम्निमाको देवस्थल रे
मेरो दृष्टि त्यतातिर गिद्दे ठहर्छ जबर्दस्त,
किनकी मेरो नाक चुच्चो छ !!

उहिले कहिले मेरा बाहुन खलकहरूले
राजगुरु,राजपुरोहित आदि बनेर
ती चेप्टे र चिम्सेहरूलाई दमन पनि गरे रे
सिलौटामा जिरा पिसे झैं
भिमसेनलाई नौसिङ्गे भाले चडाए झैं
अरुणलाई किराँत चडाए रे
विष्णुमतीलाई पाटे नेवारहरूको
नाकको पाटै चडाए रे !
ऐले तिनले यसको ऐतिहासिक क्षतिपुर्ति
यत्रतत्र सर्वत्र मागिरहदाँ
म कृष्णपक्षको चन्द्र झैं
लुप्त नै रहन्छु,
किनकी मेरो नाक चुच्चो छ !!

मूलबासीहरुको भाषा बचाउने
भेष बचाउने
स्वत्व र अस्तित्व बचाउने आन्दोलनहरूमा
म पनि सङ्गसङ्गै छु
मलाई यहाँको बहुलता प्रति बहुलठ्ठी प्रेम छ
घाटु, पालम, शिली आदि प्रति
सद्भाब र सहभागिता छ
तर म त्यतातिर लाग्दा
तिम्रो नजरमा
लेन्डुपे, सुराकी दलालको एजेन्ट
इत्यादि बन्छु
सिरिसमा उम्रेको ऐजेरु जस्तै
भट्मास रोप्दा उम्रेको पाती जस्तै
किनकी मेरो नाक चुच्चो छ ।

अरुणको आयु जस्तै
लिम्बुवानको आयु बताउने म
कन्काईको दिर्घायू र कोचको स्वत्व
बराबर ठान्ने म
रोङ, मिथिला, तामसालिङ, किराँत
मगरात र खसलाई
चन्द्र र सुर्य जस्तै अरबौ बर्ष
आयु भएको बताउने म
मनमा, तनमा स्पन्दनहरूमा राष्ट्र राज्य बोकेर
ऐयासी ठाँटिलो मधुरता साँध्ने म
मानौं यो मेरो आफ्नै हो
छिमेकी साथी, मित्र आपा–आमा हैन
म आफैं हुँ
अरुणमा बगेको पानी
मेरो पुर्खाहरुको रगत हो
कञ्चनजङ्गाको हिउँ
मेरो पूर्वजका नलिहाड जमेका हुन्
तर म मौन छु
मान्न सक्दैन सत्य मेरो निष्ठालाई
यो ढोङ्गी समाजले
मलाई बैरी देख्छ
चिम्से,थ्याप्चे, कोचे र मेचेहरूले
नदेखुन पनि कसरी
मेरो नाक चुच्चो छ र
इतिहास खुनी छ ।

तर यी सब गर्नलाई एउटा अवरोध छ
सौर्य किरणलाई ओजोनको अवरोध
भन्दा गाढा
तिब्बती पठारलाई
हिमालको अवरोध भन्दा पनि गाढा
दशगजा, फिप्टिन प्यारेलाल
अमेरिकी मेक्सिको पर्खाल
आदी–आदी भन्दापनि
अग्लो र अपार
त्यो कसिङ्गर
तिम्रो आँखामा
मेरो नाक चुच्चो छ
हो म चुच्चे हुँ !!!

तिम्रा पहिचानहरुमा
तिम्राले नै अद्धोगामी पिसोले
तिम्रै आन्दोलन र अभियानको साक्षी बनेर
कोही लिम्बू बाहुन बने
कोही राई शासक बने
कोही तामाङ्ग सम्भ्रान्त बने
कोही गुरुङ, भोटे, थकाली र थारुहरू
राष्टाङ्ग बने
तर तिम्रो गति र नियति
रत्तिभर फेर परेन
उस्तै–उस्तै
उदासिन आकाश जस्तै
पतझड बन जस्तै
भुमध्यसागरीय उष्णता जस्तै
तिम्रो चन्द्र र सूर्य पनि
ध्रुवीय चन्द्र सूर्य जस्तै
बिल्कुल छड्के नै
मैले बोल्दा त बिटुलो हुन्छ
किन की तिम्रा प्रतिनिधि
कथित शासकहरूले
तिम्रो नाम, इनाम र इतिहास
सङ्घर्ष र बलिदानी बेचेर
आफुलाई म भन्दा उच्चकोटीको
शासक, बाहुन र खरो
नश्लबोधी बनाइसके
यति सत्य थाहा हुदाहुदैं पनि
मेरो बोलीमा नेल ठोकिन्छ जबरजस्त,
मेरो बिचारलाई ब्राम्हणवादी
छलछाम नै मानिन्छ
घुसपैठ सम्झन्छ यसलाई दुनिया
बृहस्पतिलाई झुट माने झैं
बुद्धलाई बिष्णुको औतार माने झैं
किनकि मेरो नाक चुच्चो छ ।

तिम्रो माङमा एक प्याला छ्याङ सड्काउदा
भटमासको किनिमा र
भिमसेनलाई भाकल गरेको
नौसिङ्गे भालेको किनिमा बजाउदा
मेरो मन खुस हुन्छ
रोदीमा गुरुङ्सेनीको रूपले मलाई तान्छ
थारुनी मैया र सुब्बेनी लुङ्गा
मलाई आफ्नै लाग्छन्
गोर्खा राज्यको बिस्तारमा तिम्रो राज्य
बिस्थापित भएको सत्यले
मलाई स्तब्ध बनाउछ
म चेपे नदीभन्दा
अरुणलाई घृणा गर्छू
गणेश हिमाल भन्दा
कञ्चनजङ्घालाई औधी प्रेम गर्छू
मिले तिमीसङ्गको सहबासले
एउटा बर्णशङ्कर निकाल्छु
मनको निहारिकामा
मेरो ब्राम्हणत्व स्वाहा पारिदिन्छु
तर यी सब गर्नलाई एउटा अवरोध छ
सौर्य किरणलाई ओजोनको अवरोध
भन्दा गाढा
तिब्बती पठारलाई
हिमालको अवरोध भन्दा पनि गाढा
दशगजा, फिप्टिन प्यारेलाल
अमेरिकी मेक्सिको पर्खाल
आदी–आदी भन्दापनि
अग्लो र अपार
त्यो कसिङ्गर
तिम्रो आँखामा
मेरो नाक चुच्चो छ
हो म चुच्चे हुँ !!!

 

वि.सं.२०८० माघ १३ शनिवार ०७:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...