धन प्रसाद पुन ‘दीपशिखा’, बागलुङ
१.
झुपडीमा बिहान बेलुका पकाउने रासन छैन
मुलुकमा अझैसम्म प्रजातान्त्रिक शासन छैन
मुगलान भासिँने नेपालीको रहर कि बाध्यता,
केही गरौँ भन्ने युवालाई देशभित्र आसन छैन ।
२.
धेरै गफ नदेऊ विश्वास गर्न छोडे अब तिम्रा कुरा
ठुला माछा उम्काउँछौँ सधैँ समाउँछौँ साना भुरा
सानालाई ऐन ठुलालाई चैन कहिले अन्त्य होला,
मुलुकले कोल्टे फेरेको हेर्ने सपना हुने भो अधुरा ।
३.
कहिले तर्क गर्छन् कहिले कुतर्क गर्छन् याद गर्नू
स्वार्थको निम्ति भित्र भित्रै लागि पर्छन् याद गर्नू
बाहिर एउटा भित्र अर्कै रङ बदल्ने छेपाराहरूले ,
आफ्नै घर भत्काउन अनेक भ्रम छर्छन् याद गर्नू ।
४.
पानीको फोका जस्तै हो जिन्दगी फुट्न सक्छ
वर्षौं वर्ष गाँसेका सम्बन्ध एकाएक टुट्न सक्छ
मनमुटाव हुँदैमा बोलचाल बन्द गर्न किन हतार ,
मन हो पग्लिँदै गए छुटेका सम्बन्ध जुट्न सक्छ ।
५.
खेलमा राजनीति घुसे पछि खेलाडी कसरी टिक्छ्न्
आदर्श मानिएका नेता स्वार्थ मिले पैसामा बिक्छन्
खेलाडी पलायन हुँदा रमिता हेरेर बस्ने नेताहरूबाट
कठैबरा नेपाली जनताहरूले के नौलो कुरा सिक्छन् ।
वि.सं.२०८० फागुन २६ शनिवार ०८:२९ मा प्रकाशित






























