यम रेग्मी, दाङ
फोडेर छाँगो जल झिक्नुपर्छ
पुगेर टुप्पा फल टिप्नुपर्छ
दोई बघेनी दुध बेच्नुपर्छ
आफ्नै धराका विष खेद्नुपर्छ ।१।
बल्दैन चुल्हो पर अग्नि बाल्दा
बनिन्न माली परदेश भाग्दा
काचो गलेको फल हुन्न मीठो
युवा झुलेको घर नै सुनौलो ।२।
सम्झेर राती दिनमै दुखेको
पानी नपर्दे किन छौ रुझेको ?
तरिन्न खोला डरमा डुबेर
झुल्दैन बाली अघि नै सकेर ।३।
मकै खडेरी जति घाम खान्छ
घोगा सुनौलो उति बन्न जान्छ
हिडेर मात्रै खुलिदिन्छ बाटो
आली लगाए पछि बन्छ आठो ।४।
धुवा पुरानो खुब फाल्छ गाडी
चढ्छन् नयाँ नै बसमा सवारी
आधीहुरीमा बन सतिसाल
युवा पिँढी हौ युगको जहाज ।५।
छन्द : उपजाति
(पदका चार पाउ मध्ये कुनै एक पाउ वा दुई – तीन पाउ उपेन्द्रवज्राका वा इन्दवज्राका भएर एक श्लोक पूरा भयो भने त्यसलाई उपजाति छन्द भनिन्छ । यसरी इन्द्रवज्रा र उपेन्द्रवज्रा मिसिएको वा पहिलो अक्षर मात्र फरक ( जगण र तगण ) हुने मिश्रित छन्दको नाम हो – उपजाति । यसको पाँच अक्षरमा विश्राम हुन्छ र लय – ताल पनि उस्तै हुन्छ । )
वि.सं.२०८१ जेठ १२ शनिवार ०८:०७ मा प्रकाशित






























