नवराज न्यौपाने ’मौन’तनहुँ
उसले लाखौंलाख राम्रा काम गरेर देखायो । सारा गाउँले उपभोक्ताहरूले उसलाई भव्यरुपमा सम्मान गरे । सबैले घर घरमा उसको तस्वीर पनि राखे ।
तर उसको अफिसबाट भने कहीँ कतै सम्मान र पुरस्कार पाउन सकेन । न त उसको कहिल्यै बढुवा भयो , न त मागेको ठाउँमा सरुवा भयो । किनकि उसमा खाने र खुवाउने कला थिएन ।
उसले श्रीमतीलाई पनि एकोहोरो माया गरिरह्यो । बढी माया गरेकोले श्रीमतीले बढी नै छलकपट र षड्यन्त्र बुनेर दुःख दिइरहिन् । ऊ चूपचाप सहेर बसिरह्यो । किनकि उसमा छलछाम गर्ने कला थिएन ।
अहिले ऊ एक्लो छ । ऊसँग सबैखाले सीप र इलम छ । तर समाजले उसलाई गन्दैन । किनकी उसमा कूटनीति र झूठ बोल्ने कला थिएन ।
अचेल ऊ भन्छ – ’मान्छे इलम र प्रतिभाले महान बन्दैन, समयानुकूल रङ्ग फेर्नसक्ने कलाले नै महान बन्दोरहेछ । बुढ्यौलीमा चेत पलाए पनि मैले आफूलाई बदल्न सक्तिन ।’
वि.सं.२०८१ असार १५ शनिवार ०८:३९ मा प्रकाशित






























