मनिषकुमार शर्मा समित, भक्तपुर
लगातारको ढोकामा आएको ढकढक आवाजले ऊ ढोका खोल्न बाध्य भयो ।
“के होला ? कसलाई खोज्नु भयो कुन्नि ?” अपरिचित अनुहार देखेर उसले प्रश्न गर्यो ।
“नमस्कार । यसो वास पाइन्छ कि भनेर दुः ख दिएको ।”
“साँझको पाहुना देउता भन्छन् हजुर तर….”
“तर के …?”
“के थरी पर्नु भयो ? हाम्रो पानी चल्छ कि चल्दैन कुन्नि ?” उसले अलि हच्किदै सोध्यो ।
“हैट ! के कुरा गर्नु भएको । अहिलेको जमानामा पनि जातभातको कुरा । छाडिदिनुस् यी कुरा ।” पँहुनाले आँफूलाई अलि उदार देखाए ।
भालेको पहिलो डाकमै उठेर पाहुना विदा भए । पाहुना विदा भए लगत्तै ऊ पनि पँधेरोतिर लाग्यो । त्यहाँको दृष्य देखेर मुसुमुसु हाँस्यो । उसको अथितिदेव त मन्त्र जप्दै आफ्नो कुम्लोकुटुरोमा सुनपानी छर्कदै, हतारहतार खल्को हाल्दै थिए ।
वि.सं.२०८१ भदौ २९ शनिवार ०५:१४ मा प्रकाशित






























