
कविराज घिमिरे, चाँगुनारायण ४, भक्तपुर
मेरो कारण भोकमा कति प¥यौ निद्रा हरायो कति ?
लाग्दा प्यास मिलेन खान जल नै आत्मा सुकायौ कति ?
पर्ला खाडलमा भनी प्रतिपला तैनाथ गर्दा ममा ।
बाबाका कति लक्ष्य तोडिन गए मेरो सुरक्षा दिँदा ।।१
साङ्लोझैँ म बनी कसेँ कति कसेँ सासै नचल्ने गरी ।
भित्री प्रेम दियौ विचित्रसँगले फाली धसेको सरी ।।
हुन्थ्यौ मौन भविष्यको लख गरी विद्वान् बनाएँ भने ।
मेरो साख अवश्य थाम्छ यसले सौभाग्यशाली बने ।।२
आमाको दहनीय वक्ष निमठी चुस्ता दिएँ पीडन ।
भोकै वा कि त तृप्त हुन् यतिकुरा को बुझ्दथ्यो उल्झन ।
निस्स्वार्थी मनबाट सेवित बनी हुर्काउँदाको क्षण ।
के सम्झूँ अहिले छ लाभतिरको चिन्ता नराम्रो किन ?३
किस्तामा हुनुहुन्न प्रेम ममता कर्तव्य सद्भावना ।
मायामा भरिपूर्ण बाँध्न नसके के चाहियो कामना ?
बाआमा हितका अपूर्व बल हुन् सम्याउँछन् टाकुरा ।
हाम्रालागि अनन्तसम्म खिइने हुन् दिव्य ती पाखुरा ।।४
छोराको अझसम्म छैन मनमा बाबा र आमा भने ।
ती छोरा बिनसित्तिका मयल हुन् बेकार छोरा बने ।।
लिन्छन् अंश यिनै डटेर दगुरी के हेर्दथे झन् पछि ।
आफ्नै हुन्छ बगान भुल्दछ त्यहीँ मारेर झन् बुर्कुसी ।।५
बढ्दै बालक भोलि बन्दछ ठिटो बिस्तारमा प्रौढ ऊ ।
बन्ने वृद्ध अवश्य हुन्छ क्रमले रोकेर रोकिन्न ऊ ।।
मर्यादा नरही विवेक सकिए के काम होला ठुलो ।
मात्रै केस फुलेर हुन्न गतिलो तारा सरी चम्किलो ।।६
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत :SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५५ मा प्रकाशित