देवी पन्थी, बिराटनगर
मानव
तस्करभन्दा
अक्षर र
शब्दका तस्कर
घाती हुन्छन्,
पैसाको लोभमा
राष्ट्र,राष्ट्रियता र
संस्कृतिसँगै
देशको
आन्द्राभुँडी
मन
मुटु–कलेजो र
फोक्सो बेच्छन्
आस्थाका केन्द्रहरू
भत्काउँछन्
कसैलाई तल झारेर
कसैलाई माथि उचालेर
जातीय विभेद
वर्गीय द्वन्द्व
धार्मिक र
आस्थाको
हिंसा फैलाउँ छन् ।
पैसा बोकेर
कलम किन्नेसँग
कलम बेचेर
पैसा लिनेसँग
प्रयोजनमा आउने
प्रायोजित
लेखकले गर्दा
चिन्तन र
विचार
धरापमा
परेको छ।
माटो समाएर
माटोको सुगन्ध
मुटु छामेर
मुटुको
स्पन्दन
अक्षरमा
परिणत गर्नेहरू
हेपिएका छन्
इतिहास नै
धमिलो
भएको छ।
विदेशी
सेमिनारमा
उनकै नाम
स्वदेशी गोष्ठीमा
उनकै नाम
सार्क र
एशियालीमा
उनकै बोलबाला
हवाइजहाजमा
तिनकै सफर
कति हो कति
अफरै अफर!
पाँच तारेमा
तिनकै खाना
साना ठुला
सबै पुरस्कार
उनकै कब्जामा
अर्गानिक लेखक
ङिच्च बुढी
किच्च दाँत।
ओहो! गाँठे ।
वि.सं.२०८१ फागुन १० शनिवार ०५:१२ मा प्रकाशित






























