समीप बैरागी, रोल्पा
जान मन त पटक्कै छैन मलाई
र,पनि जानैपर्ने भयो
पुर्खाहरू हिँडेको बाटो, पुर्खाहरू पुगेकै ठाउँ सम्म ।
थुप्रै होलान् सम्झने पलहरू सम्झिदिनु
थुप्रै होलान् बिर्सने क्षणहरू बिर्सिदिनु ।
केही सपनाहरू अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कलाकृतिको मध्य भागबाट
प्याराग्राफ छुटि गएको कथा ।
केही आशाहरू अँधुरै रहने भए
जस्तो कि –
अँधुरो हुन्छ
कविले एकदिन पूरा गर्छु भनेर
विम्बको खोजी गर्दागर्दै
हुरीसँग उडि गएको कविताको हरफ ।
भेटिनु र छुटिनु सृष्टिको रीत हो
मैले सहर्ष स्वीकार गरेको छु ।
छुट्ने वाला छन् –
डाँफे, मुनाल खेल्ने बर्फिला पाटनहरू
मलाई छातीमा राखेर
मेरै जीवनको वेदना सुसाइरने पातलहरू
जस्तो कि –
छुटि जान्छ
रातको आगमनमा क्षितिजको निधारबाट – घाम ।
छुट्ने वाला छन् –
मेरा पैतालाहरूले चुमेका
उकाली ÷ ओरालीहरू
भिर पाखाहरू ÷ देउराली भन्ज्याङहरू
जस्तो कि –
छुटि जान्छ
खडेरीमा डालीबाट फूलको थुङ्गो ।
छुट्ने वाला छन् –
हृदयले हृदयसँग साउती मार्ने – प्रेमिल साँझहरू
संघर्षको पाइला चाल्न सिकाउने
प्रेरणादायी सुनौला बिहानहरू
जस्तो कि –
छुटि जान्छ
अँध्यारोमा आफ्नो छाया आफैबाट ।
छुट्ने वाला छ्न् –
आँसु, हाँसो बिसाएका चौतारीहरू
घर परिवारहरू / प्रिय साथी संगीहरू
जस्तो कि –
छुटि जान्छ
बिधवा चेलीको ओठबाट खुशीको मुस्कान ।
लागेको थियो –
मेरो आँखाबाट प्रिय मानिसहरू नछुटुन्
उनीहरूको आँखाबाट म नछुटुँ
तर मिच्न नसकिँदोरहेछ – बिधिको बिधान ।
जीवनको अन्तिम घडीमा छु
एकैछिनमा –
छुट्ने वाला छ, मेरो आँखाबाट यो संसार
र, संसारको आँखाबाट म छुट्ने वाला छु ।
वि.सं.२०८१ फागुन १० शनिवार ०५:१९ मा प्रकाशित






























