मन्दा पौडेल, काठमाडौं
नफक्रिँदै ओइलिएर,कोपिलामै झरेँ भने
घाइते होलान् बा र आमा अकालमै मरेँ भने
लेखी छोड्छु,यौटा पत्र पुर्याइदिनु ए हुलाकी
नासो हेरी माफी दिनू,गलत यात्रा भरेँ भने
उपेक्षाको फुल्दैन फूल,सक्छौ हेरेर बस्नू
फेरि भेट होला नि पक्कै,यो भड्खालो तरेँ भने
पारि हेर्दा अनकन्टार वन,वारि तारे भिर
के चाहिँ रोजूँ विकल्पमा,दोसाँधमा परेँ भने
फुटालेर नयनी दह, ऐया ! भन्दै आत्मा रोला
आफ्नै आलो घाउमा पुनः नुनचुक छरेँ भने
वि.सं.२०८२ जेठ १७ शनिवार ०७:५५ मा प्रकाशित






























