२८ असोज, काठमाडौँ। नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
हाल धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालय अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि हिजो भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ ।
पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले हिजो सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गर्नुभएको थियो । नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेशद्वारमा राष्ट्रिय वेषभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्नुहुनेछ ।
त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गर्नुभएको चियापानलाई पार्टीले निरन्तरता दिँदै आएको छ । रासस
वि.सं.२०७३ असोज २८ शुक्रवार ०३:०० मा प्रकाशित