जबदेखि एक मुट्ठी साँस पस्यो यो देहमा
तबदेखि यो देहले जीवनको डोको बोक्यो
यो देहले नाम्लो फेरी फेरी डोको बोक्यो
कहिले त भारी नै नपुग्ला न पुग्ला गरी
कहिले त भारी भएर बोक्नै नसक्ने गरी..
सलाम छ-यो एक मुट्ठी साँसको पाखुरालाई
जसले आँटेर विश्व विजय गर्न तम्से
सलाम छ -यो एक मुट्ठी साँसको गिदीलाई
जसले सोंचेर विचित्र टेक्नोलोजी थुपारे
सलाम छ-यो एक मुट्ठी साँसको मुटुलाई
जसले प्रेमको अनौठो निशानी थुपारे ।।
सलाम छ -यो एक मुट्ठी साँसको क्रान्तिलाई
जसले संसारको सामन्तवादी तख्ता पल्टाए ।।
एक मुठ्ठी साँसमा ‘मै हुँँ’ भन्ने
कति आए कति गए
जस्तो आए त्यस्तै गए
एक मुट्ठी साँसमा घमण्डको लेप लगाउनेहरु
आधा मुट्ठी साँस बचाउन् पाएन
एक मुठ्ठी साँसमा सम्पत्तिको धाक जमाउनेहरु
आधा मुठ्ठी साँस किन्न पनि सकेन
एक मुठ्ठि साँसमा हिंसाका खून बगाउनेहरु
आधा मुठ्ठि साँस रोक्न पनि सकेन
हो यो साँस नै हो
जसले राश थुपार्छ
हजुर यो साँस नै हो
जसले नाश पनि गर्छ
यो साँस नै हो
जसले गाँस बचाउँछ ।।
तर यो एक मुठ्ठी आँसको
कुनै ग्यारेन्टी छैन
कुन स्थायी समाधान छैन
कुनै पनि क्षण फुत्किहाल्ने बानी छ
नभनी सुटुक्क जाने बानी छ
अलविदा भन्न नदिने बानी छ
यो सब जान्दा जान्दै पनि
घमण्ड गर्ने अचम्म छ बानी
ग्यारेण्टी बिहिन साँस बोकेर
अनाचार गर्ने विचित्र छ बानी
एकदिन त यो एक मुठ्ठी साँस
स्वतः यो देह छोडेर जानेछ
एक मुठ्ठी साँसको धुकधुकी थुनेपछि
थुप्रै मुट्ठी साँसहरुले देहलाई बिसाईदिनेछ
अनि केही दिन पछि
त्यो ’एक मुठ्ठि’ साँसलाई
थुप्रै मुठ्ठी साँसहरुले भुलेर फेरि
त्यही दोहोर्याउनेछ
जुन भूल ’एक मुठ्ठि’ साँसले गरेर गए ।।
बस यो संसार चली नै बस्छ
एक मुठ्ठी साँसको भरमा
एक मुठ्ठी साँसको घरमा ।।
वि.सं.२०७६ फागुन ३ शनिवार ०९:४८ मा प्रकाशित






























