मुक्तक (१)
रिसै चर्को मायाँ च्यात्यौ म आफैंले सिलाएँ सानू
टुक्राटुक्रा घाइते मुटु जोडेर त्यसैमा मिलाएँ सानू
पोखेको मायाँ उठाउँदै हिड्छु पाइला पछ्याउँछु
कसम तोड्दिनौ आफैंलाई भरोसा दिलाएँ सानू !
(२)
माया पठाउन सकिन, अरुसङ उधार लियौ कि सानू
बाडुली लाग्न छोड्यो, गुलाफ कसैलाई दियौ कि सानू
शंकाले जलायो सबै लंका, बित्थैमा गाल पायो बाँदरले
चोखो मायाँ छोडेर, जुठो मायाँ कसैको पियौ कि सानू !
(३)
एमसीसीमा गयो ध्यान लिपुलेक ओझेलमा पर्यो सानू
कोरोना अझै बेइमानी झनै नजिक नजिक सर्यो सानू
प्रतिपक्षी भ्रष्टाचारी जोगाउन जोरबल लगाउँछ
सरकार रनभुल्लै छ अख्तियार पनि ज्युदै मर्यो सानू ।
(४)
सतिकै श्राप होकि भूइंचालो र बाढीले नास गर्छ सानू
देशको माटो सुगन्धित बिदेशीले यहीँ आस गर्छ सानू
भगवानको रचना भाग्यले यही धर्तिमा पाइला टेकियो
चिन्ता मेरो देवकिको आठौं गर्वमा कसले बास गर्छ सानू ?
(५)
भ्रष्टको जालो च्यातौँ, अब युवाले शंख फुक्नुपर्छ
देशको मायाँ मुटुमा छ भने छाती चर्केर दुख्नुपर्छ
झुठो प्रजातन्त्र भोगियो, इतिहाँस त दुख्यो दुख्यो
अब झुक्याउँनेलाई टुँडिखेलमा बाँधेर थुक्नुपर्छ ।
पैयु गाउँपालिका-४(पर्वत), हाल-अफगानिस्तान
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१३ मा प्रकाशित






























