back
CTIZAN AD

कथा : चासो

वि.सं.२०७६ फागुन १७ शनिवार

963 

shares

दरबारमा राजकुमार जन्मियो । दरबारीया,भाइभारदारले राजारानीलाई बधाई दिए । राजकुमार जन्मेको उपलक्ष्यमा राजाले दरबारीया, भाइभारदार सबैलाई एक तह बढुवा गरे । सबैको एक तह बढुवा भएकोमा दरबारमा खुशीयाली छायो । भाइभारदार लगायत सारा दरबारीयाहरू आपसमा खुशीले उन्मत्त थिए ।

दरबारमा काम गर्ने राजाको एउटा विश्वासपात्र चौकिदार थियो । उसले रानीको सेवामा कुनै कुरा अपुग हुन दिँदैनथ्यो । ऊ पनि बडा दङ्गदास थियो । राजारानीले पुत्रलाभ गर्दा उसले थुप्रै बक्सिस् पनि पाएको थियो ।

चौकिदार भावनामा बहन्थे । मनमा अनेकन कुराहरु खेलाउँथे । मौका पाउँनासाथ राजालाई आफ्नो मनको कुरा सुनाउँथे । राजा पनि उनीसँग प्रसन्न थिए ।

चौकिदारलाई मान्छेको भाग्य भावीले बालक जन्मेको छैटौं छैटीको दिनमा उसको निधारमा लेखिदिन्छन् भन्ने कुरा थाहा थियो । उसले धेरैको मुखबाट जो कोही मान्छे जन्मेपछी छैठौं दिनमा उसको भाग्य भावीले राम्ररी लेखिदिऊन् भनेर बालकको सिरानमा कापीकलम राखिदिनु पर्छ भन्ने कुरा सुनेको पनि थियो ।

भरखरै दरबारमा जन्मिएको राजकुमारलाई छैटीको दिनमा भावीले के लेख्लान् ? उसको मनमा अति नै कौतुहलता जाग्दै थियो । उसले बिचार गर्यो, ‘अब छैटौं दिनमा भाबी राजकुमारको भविष्य लेख्न रानी बसेको कोठामा पक्कै आउँछन् होला ।’ चौकिदार मनमा राजकुमारको भाग्य भावीले के कुरा लेख्लान् भनेर सोचिरहन्थ्यो ।

छैटीको दिन आयो । चौकिदारले एउटा जुक्ती लगायो, ‘म राजकुमार र रानी सुत्ने कोठाको ढोकामैं लमतन्न परेर सुतिदिन्छु । हेरौंला मलाई नाघेर ती भावी कसरी भित्र पस्न सक्छन् ?’ त्यस रात उसले ढोकाको ठेलोमैं सुतेर पहरा दियो । मध्यरातको समय भावी राजकुमारको भाग्य लेख्न दरबारमा आए । उनले ढोकामैं एउटा मान्छे लमतन्न परेर सुतेको देखेर बोले ।

‘ए मनुष्य ! बाटो छोड् । म भित्र जान्छु ।’

‘तिमी को हौ ?’ चौकिदारले सोध्यो ।

‘म मनुष्यको कर्म लेख्ने भावी हुँ । म यहाँ जन्मेको बालकको भाग्य लेख्न भनी आएको । बाटो छोड । मैंले अहिले नै उसको ललाटमा भविष्य लेख्नु पर्छ, बाटो छोडिदेऊ ।’ आफ्नो परिचय दिँदै उनले बाटो छोड्न अनुरोध गरे ।

‘अहँ, म त बाटो छोड्दिन ।’ चौकिदार बटारियो ।

‘किन नछाड्ने बाटो ?’ भावी कड्किए ।

‘यौटा शर्तमा मात्र म बाटो छोड्न सक्छु ।’ चौकिदारले केही नम्र स्वरमा भन्यो ।

‘के शर्त हो ? छिटो भन ।’ भावीले शर्त बुझ्न चाहे ।

‘हाम्रा राजकुमारको ललाटमा जे–जे लेख्नुहुन्छ, त्यो कुरा मलाई पनि भन्नुहुन्छ भने म बाटो छोड्न तयार छु । नत्र यहीँ लम्पसार परेर सुतिरहन्छु ।’ चौकीदारले आफ्नो शर्त अघि सा¥यो ।

छैटीमा जुराएको साइत बित्न लागिसकेको थियो । चौकिदारले राखेको शर्तलाई भावीले कुनै विवाद नगरी स्वीकार गरे । चौकिदारले पनि बाटो छोडिदियो । राजकुमारको भविष्य लेखेर भावी फर्किँदा चौकिदारले फेरि बाटो छेक्यो । ‘के लेख्नुभयो राजकुमारको ललाटमा ? लौ अब मलाई सुनाउनुहोस् ।’ उसले प्रश्नको तगारो तेस्र्यायो ।

‘शिकार खेलेर आफ्नो गुजारा चलाउनु, नसके आफैं शिकार बन्नु भनेर लेखिदिएँ ।’ भावीले लेखेको कुरा सुनाए । भावीको कुरा सुनेर उसले खुसी हुँदै बाटो छोडिदियो । दरबारबाट निक्लनासाथ भावी अलप भए ।

त्यसपछि भावीले लेखेको कुरा सम्झँदै चौकिदारको मनमा अनेकौ कुरा खेल्ने गर्दथ्यो । समय पनि बित्दै थियो । राजकुमार पनि हुर्कँदै बढ्दै थिए । राजकुमार वनजङ्गलमा शिकार खेल्न मन पराउँन थाले । उनी हरेकदिन साँझ कुनै न कुनै एउटा शिकार लिएर दरबार फर्कन्थे । हरेकदिन राजकुमारले ल्याएका शिकार दरबारीया भाइभारदारहरू आपसमा मिलेर खाने गर्दथे । भावीले भने जस्तै व्यवहार राजकुमारमा देखिँदै थियो ।

राजकुमारको व्यवहार देखेर चौकिदारलाई असह्य पीडा भयो । भावीले लेखेके कुरालाई मनन गरेर राजकुमारलाई विशेष सहयोग गर्ने उसले विचार गर्यो । एकदिन उसले राजकुमारसँग आफ्नो कुरा राख्दै भन्यो, ‘राजकुमार ! मलाई पनि शिकार खेल्न जाँदा साथमैं सँगै लैजानुहोस् ।’

‘किन ? दरबारको रखवारी कसले गर्छ र ?’ राजकुमारले अचम्म मान्दै प्रश्न गरे ।

‘म पनि हजुरको साथमा जङ्गलजाँदा हजुरलाई नै राम्रो हुन्छ, लैजानुहोस् न मलाई पनि आफ्नै साथमा ।’ बूढो चौकिदारले आफ्नो ढिपी अघि सार्यो ।

‘ल, ल हुन्छ । भोलिदेखि सँगै लैजाउँला । आजै दरबारको मूलद्वारमा बस्ने अर्को नयाँ चौकिदार पनि राखौला । बरु कसलाई राख्दा राम्रो हुन्छ ? एउटा विश्वासिलो चौकिदारको सिफारिस गर्नू है ।’ राजकुमारले उसको आग्रहलाई सहजै स्वीकार गरे ।

भोलिपल्ट भयो राजकुमार शिकार खेल्न जानलाग्दा उनले चौकिदारलाई पनि बोलाएर सँगै लगे । जङ्गलमा अनेकन जीवजन्तु थिए । राजकुमारले एउटा खरायो देखेर बाँण हान्न तयार हुँदा चौकिदारले भने, ‘पर्खनूस् राजकुमार ! अहिले यति सानो शिकार नगर्नूस् । दरबारमा सबै भाइभारदारहरु हजुरकै शिकारको प्रतिक्षामा छन् । यति स्यानो खरायोको शिकार कति जनालाई पुग्ला र ?’

त्यस दिन राजकुमारले ठूलो मृगको शिकार गरे । मृगको मासु खाएर दरबारमा सबै भाइभारदारहरू धेरै खुसी भए । राजकुमारको ठूलो स्वरमा जयजयकार गाए । राजकुमारले दरवारीया भाइभारदारलाई बलिया र मोटा बनाउन हरेक दिन चौकिदारले भने बमोजिम जङ्गलका मृग, हरिण, अर्ना, गैंडा, हात्ती शिकार गर्दै गए । शिकार गर्नमा निपूर्ण राजकुमारले चितुवा बाघ, भालु, सिंहको पनि शिकार गर्न थाले । जङ्गलमा सानादेखि ठूला जनावरहरू क्रमशः घट्दै थियो ।

एकदिन चौकिदार र राजकुमार जङ्गलमा ठूलो शिकारको खोजिमा भौतारिँदै थिए । दिनभर ठूला शिकार खोज्दा–खोज्दै साँझ प¥यो, अँध्यारो भयो । कुनै पनि ठूलो शिकार भेटिएन । थकित राजकुमार र चौकिदार निराश हुँदै दुवैले एक अर्काको मुख हेर्दै थिए ।
‘चौकिदार ! आज दरबारमा मेरा भाइभारदारहरू भोकाएर के खाउँ, के खाउँ भन्दै आँ मुख बाएर बसेको होलान् । कुनै जुक्ति लगाऊ ।’ राजकुमारले मधुरो स्वरमा भने ।

त्यसैबेला चौकिदारको मनमा यौटा जुक्ति पलायो । ‘राजकुमार ! आफ्नो जङ्गलमा जनावर सकिए तापनि सीमापारी छिमेकी राजाको वनमा धेरै जन्तु जनाबरहरू छन् । अँध्यारो रातमा सुटुक्क सीमापार गरौंला । कुनै न कुनै ठूलो शिकार गरेर दरबार फर्कौंला, अनि सबै भाइभारदारको भोको पेट भरौला ।’

चौकिदारले लगाएको जुक्ति राजकुमारलाई मन प¥यो । अँध्यारो रातमा दुबैले सीमापारी जङ्गलमा सुटुक्क प्रवेश गरे । जङ्गलमा बास बसेको एउटा मृगलाई राजकुमारले बाँण के ताकेका मात्र थिए, छिमेकी राजाको जङ्गल सुरक्षार्थ खटिएको चनाखो पहरेदारले दुबैमाथि तत्काल बाँण बर्साउन थाल्यो । बल्लतल्ल भागेर ज्यान जोगाउँदै मध्यरातमा खालीहात घाइते राजकुमार र चौकिदार दरबार आइपुगे ।
दरबारको मूलद्वारमै भोकाएका सबै भाइभारदारहरू राजकुमारले ल्याउने शिकारको प्रतिक्षामा जिभ्रो तिखारेर बसेका थिए । विना शिकार खाली हात घाइते राजकुमार र चौकिदार लखतरान हुँदै घर्षदै थिए । बाँण लागेर घाइते भएका राजकुमार र चौकिदार दुबैको शरीरबाट रगत बहिरहेको थियो ।

भोकाएका भाइभारदारलाई जङ्गलमा के कस्तो घटना घट्यो केही पर्वाह थिएन । मात्र उनीहरूलाई आफ्नो भोक मेटाउन शिकारको खाँचो थियो ।

भोकाएको यौटा भारदार कड्कियो, ‘राजकुमार ! आज हामी सबै भाइभारदाहरु यही दरबारको पटाङ्गिनीमा भोकै बस्ने ?’
‘पहिला मेरो कुरा त सुन । जङ्गलमा आज कति ठूलो घटना घट्यो । बल्लतल्ल हामी दुबैले ज्यान जोगाएर आयौ ।’ राजकुमार भाइभारदारलाई सम्झउन केही बोल्न खोज्दै थिए ।

‘दरबारमा सबै भाइभारदारलाई भोकै राखेर आज हामीलाई जङ्गलको कथा सुनाएर राख्ने ? के जङ्गलको कथाले हाम्रो भोको पेट भरिन्छ ?’ अर्को भोकाएको भारदार घाइते राजकुमारसँग कूर्लन थाल्यो ।

त्यसैबेला कुनचाहीँ भोकाएको भारदारले हो कुन्नि राजकुमार र चौकिदार दुवैमाथि बाँणको निशाना लगायो । घाइते राजकुमार दरबारको ढोकामै ढल्न पुगे । तत्काल सदाका लागि उनको प्राण पखेरु उड्यो ।

दरबारमा भोकाएका भाइभारदारमा विद्रोहको ज्वाला दन्कँदै थियो । बाण लगेर घाइते भएका चौकिदारले ढङ्रङ्ग पछारिएका राजकुमारलाई आफ्नो अँगालोमा च्याप्दै तिनै भावीलाई सम्झँदै बर्बराउँदै थिए, ‘धन्य भावी ! तिम्रो वाक्य ! राजकुमारको भाग्यको पछीपछी लाग्दा आज मेरो पनि यो हविगत हुन पुग्यो !’

‘राजकुमारलाई आफ्नो वसमा पार्ने यो बूढो चौकिदार अझै जिउँदै रै’छ । ताकेर बाँण प्रहार गरिहाल ।’ विद्रोहको नेतृत्वगर्ने भारदारले नयाँ चौकिदारलाई आदेश दियो ।

राजकुमारसँगै जङ्गलमा शिकारगर्न जान चौकिदारले आफ्नै स्थानमा नियुक्ति दिलाएका विश्वासिलो नयाँ चौकिदारले ती बूढा चौकिदारमाथि आफ्नो बाँणको निशाना लगायो । बूढा चौकिदारको पनि तत्काल प्राण पखेरु उड्यो ।

अर्काको चासो आफ्नै गलपासो भनेझैं सानाले अनावश्यक कुरामा चासो दिनु नहुने र ठूलाले पनि सानाको बहकाइमा लागेर आफ्नो सीमा नाघ्न नहुने रहेछ ।

वि.सं.२०७६ फागुन १७ शनिवार १०:२९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...