(१)
जब धरतीले प्रभातमा सूर्यको न्यानो साथ पाउँछ
तब सगरमाथा पनि हेरेर मुसुक्क मुस्कुराउँछ
यहाँ प्रकृतिको अनौठो सृष्टि लीला देखेर होला
चरीले पनि हृदय छुने मिठो प्रेमिल गीत गाउँछ ।
(२)
धैर्य, स्वाभिमान, उत्साहले धरतीमा झुलाउनु छ
हिमालको अभेद्य किल्लाभित्र फूल फूलाउनु छ
सादा जीवन, उच्च सोच विचारको मन्त्रलाई
शिरोधार्य गर्दै सत्मार्गको बगैंचा डुलाउनु छ ।
(३)
निधार समाउदै भन्नुहुन्छ समयले किन छल्छ ?
समयलाई दोष नदिनुस् आफ्नै गतिमा चल्छ
गरिबीको खिल्ली उडाउदै अट्टहास नगर्नुस्,
खहरेले बगाएको बग्रेठो मै हिरा मोती फल्छ ।
(४)
युवाहरूको पसिना खाडी मुलुकमा पोखिनु हुन्न
परिश्रम र इज्जत धन दौलतमा जोखिनु हुन्न
राष्ट्रियताको ज्योति बाल्दै मानवतालाई ब्युँताउन
गन्तव्यमा पुग्न यि गोडाहरू अब रोकिनु हुन्न ।
(५)
हरेक दिन प्रभातले उषा किरण छोडिदिन्छ
किरणसँगै चेतनाले मन मस्तिष्क गोडिदिन्छ
शब्द–शब्दमा रसराग भर्दै, रङ्गीन माला बुन्दै
साहित्य सिर्जनाले टुटेको मन जोडिदिन्छ ।
चापाकोट नगरपालिका-३,स्याङ्जा
वि.सं.२०७६ फागुन २४ शनिवार ०९:३६ मा प्रकाशित






























