एउटा सुमधुर सम्बन्धमा, दरार आएको छ ।
घाँटी रेट्नलाई कोसेली, तरबार आएको छ ।
तिमीलाई त उपहार पनि, फूल आयो होला,
मलाई तिखा काँडाहरुको, प्रहार आएको छ ।
आँगनमा बुबाको लास हेर्न, कोही आएनन्,
मृत्युदर्ताको दस्तुर लिन,सरकार आएको छ ।
सुदुरमा जीवनजल नभएर,जीवनै जल्यो अरे,
औषधीको झुठो आश्वासन,लगातार आएको छ ।
हिजो भर्खर अपराध बारे, नियम बनेको थियो,
एकाबिहानै बलत्कारको, समाचार आएको छ ।
सधैँ भाग्यनै खोटो भन्दै,भावीलाई दोषी ठानेँ,
भाग्य र भावी बिच तगारो, निधार आएको छ ।
आमा भन्नुहुन्छ बरु घरमै मर्छु, अस्पताल नलैजा,
घरखेतले नपुग्ने स्वास्थ्यमा, व्यापार आएको छ।
वि.सं.२०७७ फागुन २९ शनिवार ०६:४० मा प्रकाशित






























