बोल्नै प्रतिबन्ध हो भने यहाँ,
भो नगर वाक स्वतन्त्रताको कुरा,
बुझ्नै पाईदैंन भने केही कुरा,
हटाईदेउ सूचनाको हक
लेख्नै पाईदैन भने शब्द,
हटाईदेउ नीतिका कुरा,
म बोल्छु, तिमी चुप भन्छौ भने ।
म बुझ्छु, तिमी गलत भन्छौ भने ।
म लेख्छु, धरपकड गर्छौ नै यदि भने ।
अब मिल्दैन हाम्रा कुरा ।
म नबोली बस्न सक्दिन ।
म नबुझी बस्न सक्दिन ।
म नलेखी रहन सक्दिन ।
कति समय गर्छौ दमन ।
अब कि त तिमी सुक्नैपर्छ ।
या त म झुक्नैपर्छ ।
तर मेरो शीर,
झुक्नका लागि नठान
शीर त मेरो चोमोलोङ्मा हो ।
मेरा शब्दहरुलाई
राणाकाल,
मेरा आवाजहरुलाई
पंचायती व्यवस्था लादिन्छ ।
मेरा शब्दहरुले,
परिवर्तित तन्त्र महशुश गर्नै पाएन ।
मेरा दुईचार शब्दहरुबाट,
पुरानो करार बन्छ ।
परिवर्तन अनि बढाउदै
नयाँ करार लेखिन्छ ।
जन्म हुन्छ पवित्र आत्माबाट,
हुर्कन्छ अनि मारिन्छ ।
‘एलोई एलोई लामा सबखथनी’
के यति मै हो मेरा शब्दहरुको अन्त्य ?
तर नठान कि,
शब्द मर्यो भनेर,
तीन दिनपछि बौरी उठ्छ ।
चालीस दिनसम्म पुनर्जीवित हुन्छन् मेरा शब्दहरु ।
पछि बन्छ शास्त्र,
त्यही विशाल शास्त्र,
मन्त्रोच्चारण गर्नेछौ ।
तब मात्र थाहा पाउनेछौ,
शीर त मेरो चोमोलोङ्मा हो ।
तिमीहरु त केवल,
कमजोर मुटुहरुका झुण्ड हौ ।
पानी पानी भन्दाभन्दै बेहोसिने,
खडेरी मानसिकताका चित्कार हौ ।
होश खुल्दा,
अस्पतालमा हुने
मांसपेशीका पर्खाल हौ ।
घाम मात्र सहने,
या त
पानी मात्र सहने,
मौसमी अस्थिपञ्जर हौ ।
घामपानीको मौसम सहने,
चट्याङ्को गर्जन सहने,
हाँसो अनि आँसु सहने,
घृणा अनि माया सहने,
सहनशीलता लिएर आयौ भने,
भावनाका सागर बनेर आयौ भने,
म तिम्रो हुन सकुँला ।
तिमी मेरो हुन सकौला ।
चट्टानी मुटु पगाल्ने,
माया बनेर आयौ भने,
तिमी र म
हामी हुन सकौंला।
अनि पो गर्वका साथ
भन्न सकौंला,
शीर त हाम्रो चोमोलोङ्मा हो।
वि.सं.२०७७ फागुन २९ शनिवार ०६:४२ मा प्रकाशित






























