
वरिपरि जति हे–यो देख्छु नैराश्य मात्र
प्रतिदिन विषकारी देख्छु यो वायु पात्र ।
किन किन यति धेरै त्रासले चित्त गाल्यो
गगनभरि तुवाँलोले जगत् ढाक्न थाल्यो ।।१।।
सब जन मुख ढाकी हिड्दछन् आज हेर
व्यथित मन बनाई भित्र भित्रै जलेर ।
पवन पनि छ श्वाँङे बढ्न थालेछ कालो
शहर भरि तुँवालोले सबै ढाक्न थाल्यो ।।२।।
उकुस मुकुस पार्यो स्वास फेर्नै छ कष्ट
दिनकर पनि घुम्टो हाल्दछन् सुस्त सुस्त ।
विकिरण धरतीमा चौगुना फैलिहाल्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।३।।
तप तप तप झर्छन् स्वेद गर्मी चढेर
भत भत भत आँखा पोल्छ धूलो पसेर ।
खस खस खस घाँटी क्याप्प झन् क्याप्प पार्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।४।।
वन उपवन मासे स्वार्थ साँधे सबैले
बदनियत डँढेलो झोस्न थाले क्रमैले ।
अतिसय भुसुनाले तान पो मार्न थाल्यो
शहर भरि तुँवालोले सबै ढाक्न थाल्यो ।।५।।
प्रकृति विकृत पार्दा बाँच्न गाह्रो छ साह्रो
खल मनुज छ पर्दा सामनेमा तगारो ।
मल,ढल तह कस्ले लाउने ? स्वस्थ गाल्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।६।।
(छन्दः मालिनी)