३१ साउन, अमेरिका। नेपालमा क्षमता भए पनि उच्च उच्च पदमा पुग्न कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता वा ठूलो राशी बुझाउनु पर्दछ । व्यक्तिको न त कार्यक्षमता हेरिन्छ न त मूल्यांकन नै हुन्छ । तर सबै देशमा नेपालको जस्तो विकृत प्रणाली छैन, मूल्यांकनका आधारमा क्षमता भएका व्यक्तिले जुनसुकै महत्वपूर्ण जिम्मेवारी पनि पाउन सक्छन् भन्ने कुरा गैरआवासीय नेपाली नागरिक सूर्य लम्साल (Surya Lamsal) न्यूयोर्कको विद्युत प्राधिकरणको निर्देशक (Director) पदमा नियुक्त भएसँगै पुष्टि भएको छ ।
न्युयोर्क विद्युत प्राधिकरणमा बिगत लामो समयदेखी वरिष्ठ इन्जीनियर पदमा कार्यरत लम्साललाई न्युयोर्क राज्य सरकारले विद्युत प्राधिकरणको निर्देशक पदमा नियुक्त गरेको हो । न्युयोर्क राज्य सरकारले उनको क्षमतालाई मुल्याङकन गरेर उक्त पदको जिम्मेवारी दिएको हो । न्युयोर्क राज्य सरकारको न्युयोर्क विद्युत प्राधिकरण प्रमुख कार्यकारी निर्देशक पदमा नियुक्त हुने उनी पहिलो नेपाली हुन् ।
नेपालको स्याङ्जा जिल्लामा जन्मिएका उनकाे परिवार चितवन बसाई सरेपछि शिवनगर माविबाट विद्यालयस्तरको अध्ययन पुरा गरेका छन् । आइएसी र विबएसी काठमाडौंको अमृत साइन्स कलेजबाट पुरा गरेका उनले पुलचोक कलेजबाट बिइसमेत गरेका छन् । अध्ययनकै क्रममा अमेरिका छिरेका उनी हाल न्यूयोर्कलाई कर्मथलो बनाएका छन् विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।
स्कुल अफ डेमोक्रेसी नेपालको अमेरिका संयोजक, एनआरएनए अमेरिकाको पुर्व सदस्य तथा अध्यक्ष पदका पुर्व प्रत्यासी समेत रहेका लम्साल चितवन समाज अमेरिकाका संस्थापक अध्यक्ष तथा सल्लाहकार पनि हुन् ।
निर्देशकमा नियुक्त भएपछि नेपाली समुदायले सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना दिएका छन् ।
वि.सं.२०७८ साउन ३१ आइतवार १२:४८ मा प्रकाशित






























